हिमाली र पहाडी भूभागमा वर्षाको सम्भावना

गण्डकी प्रदेशका थोरै स्थानहरूमा, लुम्बिनी र कोशी प्रदेशको एक-दुई स्थानमा चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ।

फाइल तस्वीर

काठमाडौँ- नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल र बाँकी प्रदेशमा आंशिक बादल लागेको छ। गण्डकी प्रदेशका थोरै स्थानहरूमा, लुम्बिनी र कोशी प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा भइरहेको छ।

आज दिउँसो कोशी प्रदेश लगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा बाँकी हिमाली, पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरू तथा सुद"रपश्चिम प्रदेशका हिमाली, पहाडी भूभागका र मधेश प्रदेशको एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको  सम्भावना रहेको छ। मधेश, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी र तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। मधेश र लुम्बिनी प्रदेशका  तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ।