सशस्त्र प्रहरीका २ महिला कर्मचारीबाट सगरमाथाको सफल आरोहण

सशस्त्र प्रहरीका तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिलाहरूको यो पहिलो सफल आरोहण हो।

काठमाडाैँ– सशस्त्र प्रहरी सहायक हवल्दार अनिता कार्की र सशस्त्र प्रहरी सहायक निरीक्षक निम डिक्की शेर्पाले आज बिहान सशस्त्र प्रहरी बल नेपालको तर्फबाट विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।

सहायक हवल्दार अनिता कार्कीले आज (मे १७) बिहान १०:२० बजे र सहायक निरीक्षक निम डिक्की शेर्पाले बिहान ११:५५ बजे सफलतापूर्वक सगरमाथाको चुचुरोमा पुग्दै इतिहास रचेका हुन्। सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाका अनुसार यस संगठनका तर्फबाट सगरमाथा आरोहण गर्ने उनीहरू तेस्रो र चौथो सशस्त्र प्रहरी कर्मचारी हुन् भने महिलाहरूको यो पहिलो सफल आरोहण हो।

इलाम जिल्लाको सन्दकपुर गाँउपालीका माबुकी निम डिक्की शेर्पा र राष्ट्रिय स्तरकी फेन्सिङ खेलाडीसमेत रहेकी रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिका–१, चुचुरेकी अनिता कार्कीले अनुशासन, साहस र उच्च मनोबलको उत्कृष्ट उदाहरण प्रस्तुत गर्दै सशस्त्र प्रहरी बल नेपालको गौरवलाई अझ उचो बनाएको प्रवक्ता थापाले बताए।

उनका अनुसार पर्वतीय उद्धार तथा उच्च हिमाली क्षेत्रमा दक्षता हासिल गरेका आरोहीहरूले मनाङ जिल्लास्थित चुलु फार इष्ट हिमाल तथा लोबुचे हिमालको समेत सफल आरोहण गरिसकेका छन्। आरोही निम डिक्की शेर्पा र आरोही अनिता कार्कीको सगरमाथा आरोहण अभियानमा क्रमश: शेर्पा निमा साङ्गे शेर्पाले र टासी ग्याल्जेन शेर्पाले मार्गदर्शक तथा सहयोगीको भूमिका निर्वाह गरेका थिए।