यी प्रदेशमा आज वर्षाको सम्भावना

मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा पनि मेघगर्जनसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

फाइल तस्वीर

काठमाडौँ- नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम पानी परिरहेको छ।

आज दिउँसो कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। मधेश प्रदेश तथा बाँकी प्रदेशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भूभागमा मुख्यतया सफा रहनेछ। कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

त्यस्तै, मधेश, कोशी, बागमती र गण्डकी प्रदेशको तराई तथा बाँकी पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा पनि मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका  तराई  भूभागमा भने तापक्रम बढ्ने सम्भावना रहेको छ।

आज राति कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ। बाँकी पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।