आज यी प्रदेशमा वर्षाको सम्भावना

नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

फाइल तस्वीर

काठमाडौँ– नेपालमा पश्चिमी वायु, स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा साधारणतया बदली रहेको छ। मधेश प्रदेशसहित लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली रहेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

कोशी र गण्डकी प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ भने बागमती प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाले सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। मधेश प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

त्यस्तै, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भूभागमा तातो दिन तथा तराई क्षेत्रमा तातो लहरको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, मधेश, बागमती र गण्डकी प्रदेशसहित देशका हिमाली भूभागमा साधारणतया बदली रहनेछ। ती प्रदेशका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।