कस्तो रहला आजको मौसम?

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ।

फाइल तस्वीर

काठमाडौँ– नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले गण्डकी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई भूभागमा मौसम मुख्यतया सफा रहेको छ। गण्डकी प्रदेशका धेरै स्थान तथा कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

महाशाखाले मंगलबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्र तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

लुम्बिनी प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा तातो दिनको अवस्था रहने अनुमान गरिएको छ।

मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका थोरै स्थानमा हावाहुरी चल्न सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति पनि कोशी र मधेश प्रदेशका केही स्थान तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी र कर्णाली प्रदेशका हिमाली तथा पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।