यी प्रदेशमा आज वर्षाको सम्भावना

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिनको अवस्था रहने अनुमान गरिएको छ।

फाइल तस्वीर

काठमाडौँ– नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

बुधबार दिउँसो कोशी र मधेश प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा तथा हिमपात हुन सक्ने अनुमान गरिएको छ।

बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा पनि वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिनको अवस्था रहने अनुमान गरिएको छ।

मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भूभागका थोरै स्थानमा अपराह्नपछि हावाहुरी चल्न सक्ने सम्भावना छ।

आज राति पनि कोशी, बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा मधेश प्रदेशसहित लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई तथा पहाडी भूभागका केही स्थानमा हावाहुरी चल्न सक्ने अनुमान गरिएको छ।