यस्तो रहनेछ आजको मौसम

मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ।

फाइल तस्वीर

काठमाडौँ– हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार अहिले कोशी प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ। मधेश प्रदेशमा आंशिक बदली रहेको छ भने बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ।

कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाले बिहीबार दिउँसो कोशी प्रदेशसहित बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको जनाएको छ। मधेश प्रदेशसहित लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी भूभागका थोरै स्थान तथा बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ।

सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा तातो दिनको अवस्था रहने सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति देशभर साधारणतया बदली रहनेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका तराई तथा पहाडी भूभागका साथै बाँकी तराई क्षेत्रका थोरै स्थानमा हावाहुरी चल्न सक्ने अनुमान पनि गरिएको छ।