‘नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ’

प्रधानमन्त्री वालेन्द्र शाहले भारतले नेपाली भूमि मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको आफूले थाहा पाएको बताएका छन्।

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले भारतले नेपाली भूमि मात्र नभई नेपालले पनि भारतको भूमि मिचेको आफूले थाहा पाएको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा आइतबार सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो अभिव्यक्ति दिएका हुन्।

संसद् बैठकमा श्रम संस्कृति पार्टीका सांसद आरेन राई र नेकपा एमालेकी सांसद पद्मा अर्यालले लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रमा भारत र चीनले सडक निर्माणलगायतका संरचना बनाएको विषयमा प्रश्न गरेका थिए।

राईले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री शाहले भने, “तपाईँहरूलाई एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति भर्खर प्रधानमन्त्री भइसकेपछि थाहा पाएँ— भारतले नेपालको जग्गा मात्र होइन, नेपालले पनि भारतको जग्गा धेरै ठाउँमा मिचेको रहेछ।”

प्रधानमन्त्री शाहले सीमाको यथार्थ अवस्था पत्ता लगाउन दुवै देशले संयुक्त अध्ययन गर्नुपर्नेमा जोड दिए। सीमा क्षेत्रमा देखिएका समस्यालाई एक मित्रराष्ट्रको हैसियतमा बसेर छलफलमार्फत टुङ्ग्याउने सरकारको लक्ष्य रहेको उनको भनाइ छ। ऐतिहासिक विवादहरूलाई कूटनीतिक माध्यमबाट समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनले प्रष्ट पारे।

नेपाल सरकारले लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको भूभागका सम्बन्धमा भारत सरकारलाई औपचारिक रूपमा कूटनीतिक ‘नोट’ पठाइसकेको र त्यसको जवाफसमेत आइसकेको प्रधानमन्त्रीले सदनलाई जानकारी दिए। "त्यसको जवाफमा दुवै सरकारले आफ्ना इतिहासविद्, सर्भेयर र भूमिसम्बन्धी जानकारी भएका व्यक्ति राखेर संवादमार्फत समस्या समाधान गर्ने कुरा भएको छ," उनले भने।

यस विषयमा भारत र चीनसँग मात्र नभई बेलायत (इङ्ल्यान्ड) सरकारसँग पनि कुरा गरिएको उनले बताए। ब्रिटिस इन्डियाले भारत छाडेको समयदेखिको समस्या अहिलेसम्म कायम रहेकाले यसमा बेलायतले पनि सरोकार राख्नुपर्ने नेपालको मान्यता रहेको उनले प्रष्ट पारे। यी सबै विषय कूटनीतिक संवादबाटै समाधान हुनेमा उनले विश्वास व्यक्त गरे।

सांसदहरूले उठाएका विषयलाई सल्लाह र सुझावका रूपमा लिने बताउँदै प्रधानमन्त्री शाहले विभिन्न कालखण्डमा गठन भएका आयोगका प्रतिवेदनहरूलाई एकमुष्ट अध्ययन गरी सरकारले आवश्यक कामकारबाही अघि बढाउने प्रतिबद्धतासमेत जनाए।