नेपाल साफ च्याम्पियनसिपको सेमिफाइनलमा

साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ।

गोवा– साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै समूह विजेताका रूपमा सेमिफाइनलमा प्रवेश गरेको छ। भारतको गोवास्थित जवाहरलाल नेहरू रङ्गशालामा आज सम्पन्न समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले श्रीलङ्कामाथि २–० गोलको जित निकालेको हो।

आजको खेलमा नेपालका लागि रश्मिकुमारी घिसिङ र रेनुका नगरकोटीले एक-एक गोल गरे। खेलको पहिलो हाफको अतिरिक्त समय (इन्जुरी टाइम) मा रश्मिले पेनाल्टी एरियाभित्र रेखा पौडेलले दिएको पासलाई सदुपयोग गर्दै पहिलो गोल गरिन्। त्यस्तै, खेलको ६०औँ मिनेटमा रेनुकाले पेनाल्टी एरिया बाहिरबाट प्रहार गरेको बलले जाली चुमेपछि नेपालको जित सुनिश्चित भएको हो। आजको हारसँगै श्रीलङ्का प्रतियोगिताबाट बाहिरिएको छ।

यस जितसँगै समूह ‘बी’ मा रहेको नेपालले दुई खेलबाट शतप्रतिशत नतिजा निकाल्दै ६ अंकका साथ शीर्ष स्थान हासिल गरेको छ। नेपालले समूह चरणको आफ्नो पहिलो खेलमा भुटानलाई १–० गोल अन्तरले पराजित गरेको थियो। यसै समूहबाट भुटान पनि तीन अंक बटुल्दै उपविजेताका रूपमा सेमिफाइनलमा पुग्न सफल भएको छ।