एसीसी महिला प्रिमियर कप : कतारलाई ८ विकेटले हराउँदै नेपालको विजयी शुरूआत

नेपालले एसीसी महिला प्रिमियर कप २०२६ मा कतारलाई ८ विकेटले हराउँदै विजयी शुरूआत गरेको छ।

एसीसी महिला प्रिमियर कप : कतारलाई ८ विकेटले हराउँदै नेपालको विजयी शुरूआत
नेपाल क्रिकेट संघ

काठमाडौँ– नेपालले एसीसी महिला प्रिमियर कप २०२६ मा विजयी शुरूआत गरेको छ। सोमबार मलेसियामा भएको खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको कतार १६.५ ओभरमा ७६ रनमा अलआउट भयो। कतारका लागि गेट्रुड चान्दिरुले सर्वाधिक २५ रन बनाइन्। आयसा १० र श्रुतिबेन कमलेशभाई राणाले ९ रन जोडिन्। 

नेपालका लागि रुबिना क्षेत्रीले उत्कृष्ट बलिङ गर्दै ३.५ ओभरमा ८ रन खर्चेर ३ विकेट लिइन्। कबिता कुँवर, रिया शर्मा र पूजा महतोले समान एक–एक विकेट हात पारे। 

७७ रनको सामान्य लक्ष्य पछ्याएको नेपालले १०.५ ओभरमा २ विकेट गुमाउँदै ७८ रन बनायो।

नेपालका लागि बिन्दु रावलले सर्वाधिक ३३ रन बनाइन्। उनले ३० बलमा चार चौका प्रहार गरिन्। पूजा महतो २८ रनमा अविजित रहँदा कप्तान इन्दु बर्मा ६ रनमा अविजित रहिन्। सम्झना कुमारी ३ रन बनाएर आउट भइन्।

यस जितसँगै नेपालले प्रतियोगितामा महत्वपूर्ण दुई अंक जोडेको छ।