सन्काहपनभित्र शिक्षा बोकेर, पागलपनभित्र विद्रोहको मसाल बोकेर हिँड्ने। हरेक अराजकताभित्र सामाजिक रूपान्तरणको झिल्को बोक्ने। सनसनीपूर्ण एउटा सम्पूर्ण जिन्दगी बाँचेका मान्छे थिए रुदाने।
सानो उमेरका कतिपय सम्झना ताजा बस्छन्। म सानो हुँदा गाउँका घरका भित्ताहरूमा 'थाहा' लेखेर प्रश्नवाचक चिह्न जस्तो बनाएको देख्थेँ। त्यो के हो भन्ने थाहा थिएन। के भन्न खोजिएको हो र किन घर घरमा त्यस्ता चिन्ह बनाइएका छन् 'थाहा' थिएन। मजस्ता धेरैले त्यो समय गुजारेको हुनुपर्छ।
घरका भित्तामा लेखिएका 'थाहा' अक्षर मस्तिष्कमा थियो, तर सम्झनामा आउने सन्दर्भ जुरेको थिएन। लेखक तथा रंगकर्मी टंक चौलागाईंद्वारा लिखित उपन्यास 'रुदाने' पढेँ। ती रुपचन्द्र विष्ट थिए, अझ नजिकबाट चिन्ने मौका पाइहालेँ। 'थाहा'का सम्झना ताजा भए।
त्यसअघि रुपचन्द्रका बारेमा थाहै नभएको भने होइन। तिनै घरका भित्ताहरूले पनि रुपचन्द्रको नाम नभनी चिनाएका थिए। उपन्यास पढ्दै जाँदा भित्ता र ठूला ढुङ्गामा लेखिएका दृस्यात्मक सम्झनाहरू आँखामा झलझली आउँदै गए।
त्यस समयको समाज, शिक्षाको अवस्था, गरिबी र छाप्रेहरूको समानताको हक, अधिकारका लागि रुपचन्द्रले शुरू गरेको थाहा आन्दोलनबारे 'रुदाने' उपन्यासमा मिहीन ढंगले चित्र उतारिएको छ। त्यो समयमा आफू सम्पन्न परिवारमा जन्मिएर पनि जनताका लागि ठूलो त्याग गरेका थिए। तर उनी आँटिलो र दम भएको मात्र होइन, थोरै सन्काह पनि थिए। उपन्यास पढ्दा प्रष्टै अनुभव हुन्छ।
रुपचन्द्रले बाँचेको जीवन सहज थिएन। कष्टपूर्ण हुँदा पनि आफ्नो अभिभारा छाडेनन्। उनका आदत बनेका रक्सी र चुरोटले बिस्तारै आफैँलाई सक्काए । दार्शनिक, सामाजिक अभियन्ता, कवि, साहित्यकार, खेलाडी, शिक्षक र राजनीतिकर्मी अनगिन्ती आयामहरूका संकलित स्वरूप हुन् रुदाने। उनको बहुआयामिक व्यक्तित्व साँच्चै लोभलाग्दो छ।
विद्रोही, सन्काह, पागल, अराजक अनेक विशेषण र अनेक नामहरू- रूप, रुपे, स्वरुपे, रापसरु, जसरु, रुदाने, रुपचन्द्र विष्ट। हरेक सम्बन्धमा आफ्नो छाप छोड्ने कला, मन कोमल, बोली कडा। उनलाई बुझ्दै गर्दा सिनेमाको कुनै प्रसिद्ध नायक जस्तो पनि लाग्ने। सन्काहपनभित्र शिक्षा बोकेर, पागलपनभित्र विद्रोहको मसाल बोकेर हिँड्ने। हरेक अराजकताभित्र सामाजिक रूपान्तरणको झिल्को बोक्ने। सनसनीपूर्ण एउटा सम्पूर्ण जिन्दगी बाँचेका मान्छे थिए रुदाने।
त्यो समय र समाजमा उनले गरेको राजनीति अतुलनीय छ। शिक्षाका लागि छाप्रेका छोराछोरी बटुल्दै, गाउँ गाउँ, घर घर पुगेर छाप्रेहरूलाई जनचेतना जगाउनु, विद्यालय खोल्नु, राष्ट्रिय गान आफै लेख्नु, विकासघर, विकासे खेतीको शुरूआत गर्नु, पर्यटन प्रवर्द्धनको शुरूआत गर्नु चुनौतीपूर्ण थियो भन्ने हामी अनुमान मात्र लगाउन सक्छौँ।
यो उपन्यासलाई मैले केही समय लिएर बिस्तारै अध्य्यन गरेँ। त्यसो त मलाई कुनै पनि उपन्यासको समय पुगेर पात्रसँग संवाद गर्दै, यात्रा गर्दै डुब्न मन लाग्छ। जब म रुदानेभित्र प्रवेश गरेँ, रुदानेलाई चिन्दै गएँ, साँच्चिकै मलाई राति, दिउँसो, बाटोमा हिँडदै गर्दा होस् या स्कुटीमा यात्रा गर्दा होस्, अफिसमा काम गर्दा होस्, यस पात्रले एक पल पनि एक्लै छोडेन। बाटोमा मेरा आँखाले रुदानेलाई खोज्न थाले। जहाँ जान्छु उनकै बारेमा सोँच्न थालेँ। साथीहरू भेटिए भने उनकै बारेमा सोध्न थालेँ।
मलाई रुपचन्द्रका बारेमा अझै धेरै जान्ने उत्सुकता भयो। मैले गुगल गरेँ। विभिन्न्न अनलाइन पोर्टलहरूमा उनको बारेमा लेखिएका लेखहरू पढेँ। युट्युबमा उनका बारेमा भिडियोहरू खोजेँ। उनको जिवनीमा आधारित भएर बन्दै गरेको चलचित्रको टेलर पनि हेरेँ। चलचित्र खुब खोजें तर भेटिनँ।
रुदाने उपन्यास पढेपछि साँच्चिकै के नपुगेको जस्तो, कता के खोजे जस्तो, रुपचन्द्रलाई नै भेट्न मन लागे जस्तो भइरह्ययो। एक किसिमले रुदानेले मलाई पच्छाइरहेको जस्तो हुन थाल्यो।
एक दिन एक जना साथिसँग मकवानपुर, चित्लाङ हुँदै थाहा नगरपालिकासम्म एक चक्कर लगाएँ । बाटोमा म जाँदै गर्दा यस्तो लाग्यो कि, यही बाटोमा रुपचन्द्र हिँडे होलान्। यही बाटोमा उनका पाइलाका डोबहरू अझै होलान्। यही माटोमा उनले आफ्नो पसिना बगाए होलान्। यो गाउँमा अझै पनि उनका बारेमा चर्चा हुन्छ होला।
त्यहाँका पुराना घर, गाउँ र बस्ती पार गर्दा लाग्यो- पक्कै पनि रुदाने यी घरका आँगनहरूमा छाप्रेहरूलाई जगाउन पुगे होलान्। पक्कै पनि यी घरहरूमा थाहा लेख्दै हिँडे होलान्। कतिका खेतबारीमा काम गरे होलान्। त्यहाँका जंगल, रुख, खोलानाला हेर्दा रुदानेको 'थाहा' आन्दोलन, उनका छाप्रे जगाउने नारा, कविता, गीत र पर्चा उडे जस्तो, कतै सुनसान जंगलमा रुदानेकै गीत गुन्जे जस्तो भान भयो। त्यहाँ बग्ने खोला र बतासमा पनि रुदानेकै पसिनाको गन्ध अनुभूति भयो। फर्किन मन नै भएन। तर बाध्यता थियो।
निकै दिनदेखि मन मनै उकुसमुकुस भैरहेको मेरा भाव त्यहाँ पुगेर फर्किएपछि केही नलेखी शान्त हुन सकेन। रुदाने उपन्यास खासमा टंकजीले उनको जीवनलाई आधार बनाएर लेखेका छन्। उनले बाँचेको जीवन, त्यस बेलाको समाज, राजनीति, देशको अवस्था, शिक्षा, गरिबी, विभेद र असमानतालाई चौलागाईंले जस्ताको तस्तै देखाउने कोशिश गरेका छन् ।
रुदानेले निमुखा जनताहरू र छाप्रेको पक्षमा आवाज बुलन्द पारेर थाहा अभियान चलाए। निमुखा र छाप्रेको सवालमा जनतामाझ चेतना र जागरण फैलाउन छोडेनन्। कुनै दलबल वा संगठनबिना नै राजनीतिको केन्द्रमा पुग्नु निकै कठिन काम हो, त्यो रुदाने एक्लैले गरे। थाहा आन्दोलन उनको छाप्रेहरूलाई ब्युँताउने समानताको सिद्धान्त र दर्शनलाई हतियार बनाउने सपना थियो, तर पछि गएर उनलाई रोगले गलायो।
अन्तिम समयमा पनि छाप्रो जगाउने अभियानलाई ढल्न नदिन राजनीतिमा लागे, चुनावमा काठमाडौँबाट उठिछाडे। त्यो उनको साहस, आँट, विचार, सिद्धान्त, दर्शन वा निष्ठा थियो। त्यस्ता मान्छे अब यो माटोमा शायदै जन्मिएलान्।
रुदानेको मूल मन्त्र नै ‘थाहा’ दर्शन थियो। रुदानेले ‘थाहा’ दर्शनलाई नेपाली प्रांग्रारिक माटोमा जन्मेको रैथाने आन्दोलन बनाएका थिए। त्यो समयमा नेपालभर उनको नेतृत्वमा ‘थाहा’ लेखनको अभियान नै चल्यो। गाँउ र शहरबजारका घर, पर्खाल होस् वा पाखा पखेराका चट्टान, सबैतिर ‘थाहा’ लेखियो। उनले भेटेसम्मका मानिसहरूका लुगामा पनि थाहा लेखिदिन्थे।
यस आन्दोलनको सैद्धान्तिक पक्ष भनेकै ‘थाहा पाउनु’ वा ‘जान्नु/बुझ्नु’ भन्ने हो। विशेषगरी, यस आन्दोलनको केन्द्रमा चेतनाशून्य गाउँका निमुखा छाप्रेहरू थिए। रुपचन्द्रले उनीहरूलाई सचेत बनाई राजनीतिक र सामाजिक जागरणमार्फत विकास, अधिकार र न्यायका लागि बाध्य बनाउने उद्देश्य राखेका थिए। थाहा आन्दोलन देशभिर नै २०३० देखि ०४० को दशकको अन्त्यसम्म चलेको थियो।
उनी छाप्रेहरूलाई 'तँ', 'भाते' भनेर सम्बोधन गर्थे, तर उनीहरूको घरखेतमा जे काम पनि गर्दिन पछि पर्दैनथे। उनको जीवन र यो रुदाने उपन्यासलाई तुलना गर्दा घटनाहरू दुरुस्त छन् कि छैनन् भन्ने प्रश्न उठ्न सक्ला। तर चौलागाईंले रुपचन्द्रको जीवनी, थाहा आन्दोलन, छाप्रेको जीवन, शिक्षा र त्यस बेलाको सामाजिक, राजनीति अवस्थालाई अहिलेको समयमा, अहिलेका पुस्तामाझ आख्यानात्मक शैलीमा पस्किनु एकदमै राम्रो कुरा हो।
मलाई अलिकति मनमा खट्किएको चाहिँऽ उनको श्रीमतीको प्रसंग शुरूमा अलिकति आएर पछि कतै आएको छैन। अन्त्यमा उनको शव जलाउन एक्कासि छोरा आएको प्रसंग छ। यस बेला पाठकलाई उनको श्रीमतीबारे जान्ने उत्सुकता हुनु स्वभाविक हो।
थाहा आन्दोलन र रुदाने पात्र आफैंमा एउटा सबैले जान्नु र बुझ्नु पर्ने इतिहास हो। तसर्थ यस्तो इतिहासलाई उपन्यास मार्फत लेखिनु सकारात्मक कर्म हो। टंक चौलागाईंले 'रुदाने' उपन्यास लेखेर गतिलो काम गरेका छन्। रुदाने वा रुपचन्द्र विष्टलाई वर्तमान पुस्ताका पाठकमाझ चिनाउने काम उनले गरेका छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
