बीपी राजमार्गमा रात्रिकालीन बन्दको समय परिमार्जन

बेमौसमी वर्षा र पहिरोको जोखिमका कारण काभ्रेपलाञ्चोक-सिन्धुली सडकखण्डमा रातको समयमा गरिँदै आएको अनिश्चितकालीन बन्दलाई दुई घण्टा घटाएर नयाँ समयतालिका लागू गरिएको छ।

फाइल तस्वीर

काभ्रेपलान्चोक– बेमौसमी वर्षासँगै आउने पहिरोका कारण दिनानुदिन बीपी राजमार्ग अवरुद्ध हुन थालेपछि काभ्रेपलान्चोकस्थित सडकखण्डमा रातको समयमा गराउँदै आइएको अनिश्चितकालीन बन्द शुक्रबारदेखि पुनः थप गरिएको छ। जिल्ला सुरक्षा समितिको शुक्रबारको बैठकले वर्षालगायत जोखिमका कारण एक महिनादेखि साँझ ५.०० बजेदेखि बिहान ५.०० सम्म हुँदै आएको बन्दलाई दुई घण्टा घटाएर पुनः अनिश्चितकालीन रूपमा राजमार्गमा आवागमन बन्द गराएको हो।

समितिले उक्त राजमार्गअन्तरगत काभ्रेपलान्चोकको नमोबुद्ध नगरको कटुञ्जेस्थित चौकीडाँडाबाट सिन्धुलीको नेपालथोकसम्म सडकखण्डमा रातको समयमा आवागमन बन्द गराएको जनाएको छ। अर्को सूचना जारी नभएसम्म रातको समयमा गराइएको बन्दलाई दुई घण्टा घटाएर साँझ ६.०० देखि बिहान ४.०० बजेसम्म गराइएको समितिका संयोजकसमेत रहेका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।

अधिकारीका अनुसार हालको समयमा दिन लम्बिएकाले यात्रु तथा विभिन्न व्यवसायीको मागलाई ध्यानमा राखेर बन्दको समय घटाइएको हो। बेमौसमी वर्षाका कारण रोशी खोलामा बाढी आउँदा खोलाको सतह बढेर डाइभर्सन बगाउँदा सडक अवरुद्ध हुने भएकाले गत वैशाख २२ गतेदेखि साँझ ५.०० देखि बिहान ५.०० बजेसम्मको समयमा अनिश्चितकालीन राजमार्ग बन्द गराइएको थियो।

वैशाख २१ गते राति वर्षाका कारण बिपी राजमार्गअन्तरगत रोशी गाउँपालिका–७ स्थित लास्कोट र घुमाउनेको बीचमा फसेका पाँच वटा माइक्रो बसका ८९ यात्रुको राति उद्धार गर्नु परेको थियो। यसको भोलिपल्टै समितिले रातको समयमा आवागमन बन्द गराउँदै आएको हो।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाल प्रहरी तथा ट्राफिक प्रहरीबाट खटिएको टोलीले सुरक्षित स्थानमा रोक्दारोक्दै लापरबाहीपूर्ण तरिकाले यात्रुको जीउधनलाई बेवास्ता गरेको जनाउँदै प्रहरीले सवारी चलाउने ती माइक्रो बसका चालकहरूलाई नियन्त्रणमा लिई कारबाहीसमेत गरेको थियो।

यसैबीच, प्रहरीले राजमार्गको अवस्था बुझेर मात्रै यात्रा गर्न सर्वसाधारणलाई अनुरोध गरेको छ। गत सालको बाढीपहिरोले राजमार्गको चौकीडाँडा, रोशी तथा सिन्धुलीको नेपालथोक क्षेत्रमा १८ किलोमिटर सडक बगाएपछि खोलामै डाइभर्सन निर्माण गरी आवागमन गराउँदै आइएको छ।