विपक्षीको विरोधपछि प्रतिनिधिसभा बैठक स्थगित, मंगलबार पुनः बस्ने

प्रधानमन्त्री वालेन्द्र शाहले सीमासम्बन्धी दिएको अभिव्यक्तिलाई लिएर विपक्षी दलहरूले सदन अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ।

काठमाडौँ– प्रतिनिधिसभाको बैठक विपक्षी दलहरूको विरोधका कारण स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले अर्को बैठक मंगलबार दिउँसो १:०० बजे बस्ने गरी निर्धारण गरेका छन्।

आजको बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिला शुरू भएको थियो। बैठकको प्रारम्भमै विपक्षी दलका सांसदहरूले आसनबाट उभिएर विरोध जनाएपछि सभामुख अर्यालले शुरूमा १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर, उक्त समयमा बैठक बस्न नसकेपछि अन्ततः मंगलबारसम्मका लागि सारिएको हो। सभामुखले बैठक सुचारु गर्न पटक-पटक आग्रह गरे पनि विपक्षी सांसदहरूले उभिएर विरोध जारी राखेका थिए। त्यसपछि सभामुखले उनीहरूलाई बोल्ने समय दिएका थिए।

प्रधानमन्त्री वालेन्द्र शाहले गत जेठ १७ गते प्रतिनिधि सभा बैठकमा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा सीमा सम्बन्धमा दिएको केही अभिव्यक्तिप्रति विपक्षी दलहरूले आपत्ति प्रकट गर्दै विरोध जनाएका हुन्। बैठकमा सांसद पद्माकुमारी अर्यालले प्रधानमन्त्री शाहको सीमासम्बन्धी उक्त अभिव्यक्ति संसद्को अभिलेख (रेकर्ड)बाट हटाउन माग गरिन्। विसं. २०७७ मा लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालको नक्सामा समेट्ने विषयमा राष्ट्रिय सहमति जुटेको कुरा उनले स्मरण गराइन्।

यसैगरी, बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहित विपक्षी दलका सांसदहरू सन्तोष सुब्बा, हर्कराज साम्पाङ राई, वर्षमान पुन र ज्ञानेन्द्रबहादुर शाही लगायतले बजेटमा करका दर फेरबदल गरिएको र भन्सार मिलाएर चीनबाट गाडी आयात गर्दा अनियमितता भएको विषय सञ्चारमाध्यममा आएकाले त्यसप्रति छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्नेमा जोड दिएका थिए।