मन्त्रिपरिषद् विस्तार: नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनले लिए शपथ

प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गरेसँगै नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि, नवप्रवर्तनमन्त्री महावीर पुनले मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्।

काठमाडौँ– प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद् विस्तार गरेका छन्। मंगलबार राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको संविधानको धारा ८० बमोजिम पद तथा गोपनीयताको शपथ लिएका हुन्।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायक प्रसाद यादव, प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानन्यायाधीश डा. मनोज कुमार शर्मा, सभामुख डोल प्रसाद अर्याल, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालसहित विभिन्न मन्त्रीहरू, राजनीतिक दलका नेता र उच्च सरकारी तथा सुरक्षा अधिकारीहरूको उपस्थिति थियो।

नवनियुक्त गृहमन्त्री गुरुङ र विज्ञानमन्त्री पुन यसअघि पनि मन्त्री भइसकेका व्यक्ति हुन्। रास्वपाका प्रतिनिधिसभा सदस्य गुरुङ यसअघि २०८२ चैत १३ गते पहिलोपटक गृहमन्त्री बनेका थिए। तर, व्यापारी दीपक भट्टसँग शेयर लगानीको विषयमा प्रश्न उठेपछि उनले २०८३ वैशाख ९ गते पदबाट राजीनामा दिएका थिए। उनलाई लागेको आरोपबारे छानबिन गर्न गठित समितिले बुझाएको प्रतिवेदन मंगलबार मन्त्रिपरिषद्ले ग्रहण गरेलगत्तै उनी पुनः गृहमन्त्री नियुक्त भएका हुन्।

त्यस्तै, नेपाल आविष्कार केन्द्रका संस्थापक महावीर पुन २०८२ भदौको जेनजी आन्दोलनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको सरकारमा शिक्षामन्त्री थिए। उनले २०८२ फागुनको प्रतिनिधिसभा निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दर्ता गर्नुअघि मन्त्री पदबाट राजीनामा दिएका थिए। उनी यसपटक स्वतन्त्र सांसदका रूपमा निर्वाचित भई पुन: मन्त्री बनेका हुन्।