रेमिट्यान्स ४१.२ प्रतिशतले बढ्यो

राष्ट्र बैंकको प्रतिवेदनअनुसार चालु आर्थिक वर्षको १० महिनामा रेमिट्यान्स ४१.२ प्रतिशतले वृद्धि भई १९ खर्ब १६ अर्ब ९० करोड पुगेको छ।

काठमाडौँ– चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ विप्रेषण पठाएका छन्। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको १० महिनाको विवरणअनुसार विप्रेषण आप्रवाह ४१.२ प्रतिशतले वृद्धि भएको हो।

अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो। गत वैशाख महिनामा मात्रै विप्रेषण आप्रवाह २ खर्ब ५७ अर्ब ४९ करोड रहेको छ, जुन अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ६५ अर्ब ३० करोड मात्र थियो।

समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३३ प्रतिशतले वृद्धि भई १४ अर्ब २६ करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.६ प्रतिशतले बढेको थियो।