वर्षौंदेखि अलपत्र पारिएका कर्णाली राजमार्गका १६ रुग्ण ठेक्का तोडिए

सडक डिभिजन कार्यालय जुम्लाले सम्झौताअनुसार समयमा काम नगरी आयोजना अलपत्र पारेका कर्णाली राजमार्गअन्तर्गत कालिकोट, जुम्ला र मुगुका १६ वटा रुग्ण ठेक्का एकसाथ रद्द गरी निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने प्रक्रिया शुरू गरेको छ।

फाइल तस्वीर

जुम्ला– जुम्लास्थित सडक डिभिजन कार्यालयले कर्णाली राजमार्गको सडक निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंदेखि अलपत्र पारिएका १६ वटा रुग्ण ठेक्का एकसाथ तोड्ने प्रक्रिया शुरू गरेको हो।

सार्वजनिक सूचना प्रकाशित गर्दै कार्यालयले कालिकोट, जुम्ला र मुगुमा सञ्चालित १६ वटा ठेक्का सम्झौता गरेर पनि समयमा काम सम्पन्न नगरेपछि ठेक्का अन्त्य गरिएकोसम्बन्धी १५ दिने सार्वजनिक सूचना निकालिएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी सौरभकुमार सिंहले जानकारी दिए।

ठेक्का तोडिएका आयोजना आर्थिक वर्ष २०७४/७५ देखि २०८२/८३ सम्म सम्झौता भएका कालिकोटका १२, जुम्लाका ३ र मुगु जिल्लाको १ वटा रहेका छन्। सडक डिभिजन कार्यालय मातहतका जिल्लाका यी रुग्ण ठेक्का तोड्नका लागि प्रक्रिया अगाडि बढाइएको सूचना अधिकारी सिंहले बताए।

ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न कार्यालय लागिपरेको छ। विभिन्न मितिमा लिखित तथा मौखिक रूपमा कार्य सम्पन्न गर्न अनुरोध तथा जानकारी गराउँदासमेत निर्माण व्यवसायीबाट निर्माण कार्य सम्पन्नतर्फ कुनै चासो नदेखाएकाले सार्वजनिक खरिद कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का रद्द गरिएको सडक डिभिजन कार्यालयका प्रमुख श्रवणकुमार महतराले बताए।

कानुनमा भएको व्यवस्थाबमोजिम ठेक्का सम्झौता अन्त्य गरी कालोसूचीमा राख्ने तथा कार्यसम्पादन जमानत, धरौटीबापतको रकम, पेस्की जमानत जफत र पेस्की रकमको १० प्रतिशत ब्याज असुल गर्नुका साथै बाँकी काम गर्न लाग्ने खर्च सरकारी बाँकीसरह असुलउपर गर्नेतर्फ कारबाही अगाडि बढाइने कार्यालय प्रमुख महतराको भनाइ छ।

यसअघि पनि कर्णाली राजमार्गका ठेक्का निर्माण कार्य अलपत्र पारिएका सडकका १० वटा रुग्ण आयोजनाको ठेक्का तोडिएको सडक डिभिजन कार्यालयले जनाएको छ।