दमाई, कामी, सार्की, गाइने, वादी, मगर, थारू तथा अन्य उपेक्षित समुदायका पात्रहरू यहाँ केवल सहानुभूतिको विषय होइनन्, इतिहासका वास्तविक नायक बनेर उपस्थित छन्।
कतिपय कथा केवल कथा हुँदैनन्, ती समयका अभिलेख हुन्छन्। ती इतिहासका पुस्तकमा नलेखिएका पीडाहरूका साक्षी हुन्छन्। नवीन अभिलाषीको पहिलो कथासंग्रह ‘दहाड’ यस्तै मौन इतिहासहरूको संग्रह हो जहाँ पात्रहरू बोल्दैनन्, उनीहरूको पीडा बोल्छ; उनीहरू विद्रोह गर्दैनन्, तर उनीहरूको मौनताले नै सिंगो व्यवस्थाविरुद्ध प्रश्न उठाउँछ।
यसअघि दुई कविता संग्रहमार्फत आफ्नो सशक्त काव्यिक उपस्थिति स्थापित गरिसकेका अभिलाषीले कथामा पनि कविकै संवेदनशील दृष्टि बोकेका छन्। उनका कथाहरू केवल घटनाको बयानमा सीमित छैनन्, बरु बिम्ब, प्रतीक र भाषिक सौन्दर्यले भरिएका छन्। धेरैजसो वाक्य कविताजस्तै लयात्मक र अर्थगर्भी छन्, जसले कथालाई भावनात्मक उचाइ प्रदान गर्छ।
‘दहाड’मा संगृहीत बाह्रवटै कथाले करिब चार–पाँच दशकअघिको नेपाली समाजलाई केन्द्रमा राखेका छन्। पञ्चायती शासनको कठोर सामाजिक संरचनाभित्र जात, वर्ग, लिङ्ग र पेशाका आधारमा किनारामा धकेलिएका मानिसहरूको जीवनलाई कथाकारले केन्द्रमा ल्याएका छन्। दमाई, कामी, सार्की, गाइने, वादी, मगर, थारू तथा अन्य उपेक्षित समुदायका पात्रहरू यहाँ केवल सहानुभूतिको विषय होइनन्, इतिहासका वास्तविक नायक बनेर उपस्थित छन्। मध्यपश्चिमको सेरोफेरो, परिवेष, भाषा र रैथाने लवजका शब्दहरू पनि उनका कथामा भेटिन्छन्। उनका कथामा जीवनका यथार्थ पक्षको वास्तविकता भेटिन्छ।
संग्रहको पहिलो कथा ‘हृति’ मातृत्वको विछोडको गहिरो कारुणिक कथा हो। रादीको मौन विवशता र आमाविहीन बालकको बालमानसिकताको दृष्टिबाट प्रस्तुत गरिएको कथामा समाजले महिलामाथि थोपरिदिएको निर्णयको निर्मम अनुहार देखिन्छ। यहाँ रादीको बाबु नै उसका लागि सबैभन्दा ठूलो खलपात्र बनेर उभिन्छ।
‘उछिट्टे’ केवल पहिलोपटक हाट जाने गोविन्देको कथा होइन, त्यो नुनका लागि पहाडबाट तराई झर्ने हजारौँ गरिब मानिसहरूको इतिहास हो। यातायात र सुविधाविहीन समयले एउटा अशक्त मानिसमाथि कति ठूलो अन्याय गर्न सक्छ भन्ने कुरा कथाले अत्यन्त मार्मिक रूपमा चित्रण गरेको छ।
‘सिँहुर’ बसाइँसराइको कथा मात्र होइन, स्वाभिमान बचाउन आफ्नै जन्मथलो छाड्नुपर्ने बाध्यताको कथा हो। ढोकामा ठोकिएको एउटा काठको सानो संकेत यहाँ सम्पूर्ण सामाजिक पराजयको प्रतीक बनेर उभिन्छ।
‘रैयाँ’ले मानवीय क्रूरताको भयावह रूप उद्घाटन गर्छ भने ‘चौरासी’ ले जातीय विभेदका कारण मानिसले आफ्नै जीवनको अन्तिम उत्सव मनाउन पनि नपाउने विडम्बनामाथि प्रश्न उठाउँछ। शान्तिदेवीको अपूर्ण इच्छाले पाठकको मन लामो समयसम्म छोइरहन्छ।
‘किनारा’मा माझी दुखरामको जीवन नदीजस्तै निरन्तर बगिरहे पनि उसको भाग्य सधैँ किनारामै अड्किएको देखिन्छ। अपमान, मृत्यु र सामाजिक उपेक्षाले भरिएको उसको संसार नेपाली समाजको एउटा कठोर यथार्थ हो।
संग्रहकै उल्लेखनीय कथा ‘दमाहा’ले बसाइँ, जातीय विभेद र गरिबीको त्रासदीलाई अत्यन्त जीवन्त बनाएको छ। यो कथा पढ्दा लीलबहादुर क्षेत्रीको बसाइँको स्मृति जाग्छ, तर अभिलाषीले आफ्नो मौलिक कथन शैली र संवेदनाका कारण यसलाई अलग उचाइ दिएका छन्। यही कथाले बाह्रखरी कथा प्रतियोगिता–२०७९ मा प्रथम स्थान हासिल गर्नु पनि यसको साहित्यिक शक्तिको प्रमाण हो।
‘परित्यक्त’ले प्रेमलाई केवल आकर्षण होइन, त्याग र समर्पणको रूपमा चित्रण गर्छ। भीमे र कमलीका लोकगीतजस्ता संवादहरू कथाको सबैभन्दा सुन्दर पक्ष हुन्। यो वियोगान्त कथा पढिसकेपछि पनि लामो समयसम्म पाठकलाई पछ्याइरहन्छ।
‘एक्का’ले सामन्ती व्यवस्थाको हिंस्रक अनुहार उजागर गर्छ। शीर्षक कथा ‘दहाड’ ले राजनीतिक परिवर्तनप्रतिको जनविश्वास कसरी बारम्बार धोका खाइरहेको छ भन्ने प्रश्न उठाउँछ। समय बद्लिए पनि कथाले उठाएका प्रश्नहरू आज पनि उत्तिकै सान्दर्भिक लाग्छन्।
‘ताना’मा गन्धर्व समुदायको परम्परागत पेशाप्रतिको सामाजिक अपहेलनालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ। आफ्नो सारङ्गीलाई उत्तराधिकारका रूपमा छोड्न चाहने गर्जेको सपना केवल एउटा व्यक्तिको सपना होइन, एउटा संस्कृतिको अस्तित्व जोगाउने प्रयास हो। अन्तिम कथा ‘आफ्रे’ले श्रम गर्ने हातहरूलाई सम्मान होइन, अपमान दिने सामाजिक संरचनामाथि गम्भीर प्रश्न उठाउँछ। सीपको मालिक झुपेको नियति वास्तवमा सिंगो व्यवस्थाको नैतिक असफलताको प्रतीक बनेर उभिन्छ।
यस संग्रहको सबैभन्दा बलियो पक्ष यसको भाषिक विविधता हो। थारू, मुस्लिम, गन्धर्व तथा मध्यपश्चिमका पहाडी समुदायका पात्रहरूले बोल्ने आफ्नै लबजले कथालाई जीवन्त र विश्वसनीय बनाएको छ। पात्र, परिवेश र भाषाको संयोजनले पाठकलाई कथाभित्रै प्रवेश गराउँछ। यद्यपि केही स्थानमा भाषिक अशुद्धता देखिन्छन् र ‘आकाशको रित्तो क्यानभास’ वा ‘हुरीले बोकेको आगो’ जस्ता केही बिम्ब दोहोरिएका छन्। यी साना कमजोरीले संग्रहको समग्र प्रभावलाई कमजोर भने बनाउँदैनन्।
समग्रमा ‘दहाड’ केवल कथासंग्रह होइन, नेपाली समाजको एउटा मौन इतिहासको उत्खनन हो। यसले पाठकलाई मनोरञ्जनभन्दा बढी असहज बनाउँछ, सोच्न बाध्य बनाउँछ र अन्यायको विरुद्ध मौन बस्न नहुने चेतना जगाउँछ।
इतिहासका पानामा हराउँदै गएका आवाजहरूलाई साहित्यको माध्यमबाट पुनः जीवित बनाउने सामर्थ्य यस संग्रहमा छ। त्यसैले ‘दहाड’ गहिरो पठन र गम्भीर विमर्शको माग गर्ने समकालीन नेपाली कथासाहित्यको एक महत्त्वपूर्ण कृति हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
