हालान्डको दुई गोलमा नर्वे पहिलो पटक विश्वकप क्वार्टरफाइनलमा, ब्राजिल बाहिरियो

एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गर्दै पहिलो पटक फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

हालान्डको दुई गोलमा नर्वे पहिलो पटक विश्वकप क्वार्टरफाइनलमा,  ब्राजिल बाहिरियो
रोयटर्स

काठमाडौँ- एर्लिङ हालान्डको उत्कृष्ट प्रदर्शनमा नर्वेले पाँच पटकको विश्वविजेता ब्राजिललाई २–१ ले पराजित गर्दै पहिलो पटक फिफा विश्वकपको क्वार्टरफाइनलमा स्थान बनाएको छ।

अमेरिकाको न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा आइतबार राति भएको अन्तिम १६ को खेलमा हालान्डले ७९औँ र ९०औँ मिनेटमा गोल गर्दै नर्वेलाई ऐतिहासिक जित दिलाए। ब्राजिलका लागि अतिरिक्त समयको १०औँ मिनेटमा नेयमारले पेनाल्टीमार्फत सान्त्वना गोल फर्काएका थिए। यसअघि ब्रुनो गुइमाराइसले पहिलो हाफमा पाएको पेनाल्टी भने नर्वेका गोलरक्षक ओर्जान न्युलान्डले बचाएका थिए।

यस जितसँगै नर्वे विश्वकप इतिहासमै पहिलो पटक क्वार्टरफाइनलमा पुगेको छ। अब नर्वेले क्वार्टरफाइनलमा इङ्ग्ल्यान्ड र मेक्सिकोबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।