एसीको ग्यास भर्ने क्रममा सिलिन्डर पड्किँदा एक जनाको मृत्यु, एक घाइते

भरतपुर-१६ मा एसीको ‘कुलिङ ग्यास’ भर्ने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

चितवन– भरतपुर महानगरपालिका-१६ मा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार शुक्रबार दिउँसो करिब ३:२० बजे रोयल फर्मास्युटिकल्स उद्योगको दोस्रो तलामा ‘एयर कन्डिसनर (एसी)’को ‘कुलिङ ग्यास’ भर्ने क्रममा सिलिन्डर पड्किएको थियो।

सिलिन्डर पड्किँदा त्यहीँ काम गरिरहेका भरतपुर महानगरपालिका-१२ का ३० वर्षीय प्रमोद कोइराला र पर्सा जिल्लाको पटेर्वा सुगौली गाउँपालिका-५ का २८ वर्षीय इम्तियाज देवान गम्भीर घाइते भएका थिए। घाइतेमध्ये कोइरालालाई उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए।

उनका अनुसार अर्का घाइते देवानको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ र उनको अवस्था गम्भीर छ। दुवै जना रोयल फर्मास्युटिकल्स उद्योगमा एसियामा ग्यास भर्नका लागि त्यहाँ गएका थिए।