इनरुवा र महेन्द्र राजमार्ग क्षेत्रमा कर्फ्यु आदेश जारी

जिल्ला प्रशासन कार्यालय सुनसरीले सदरमुकाम इनरुवा बजार र महेन्द्र राजमार्ग क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

इनरुवा— जिल्ला प्रशासन कार्यालय सुनसरीले सदरमुकाम इनरुवा बजार र महेन्द्र राजमार्ग क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ।

देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा उत्रिएको समूहले कोशी कटान क्षेत्रका पसलहरूमा लुटपाट, तोडफोड र आगजनी गरेपछि सो क्षेत्रको अवस्था निकै संवेदनशील बनेको हो। प्रदर्शनकारीहरूले पूर्व–पश्चिम राजमार्गको सुनसरी खण्डका विभिन्न स्थानमा टायर बालेर सडक पूर्ण रूपमा अवरुद्ध पारेका छन्।

स्थिति नियन्त्रणभन्दा बाहर जान नदिन जिल्ला प्रशासन कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम साउन १२ गते दिउँसो ३:३० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालद्वारा जारी आदेश अनुसार महेन्द्र राजमार्गअन्तर्गत पूर्वमा पकली चोक, पश्चिममा कोशी ब्यारेजको पुल र राजमार्गको उत्तर–दक्षिण २०० मिटर क्षेत्रभित्र कर्फ्यु लागू हुनेछ। साथै इनरुवा बजार क्षेत्रमा पनि आवतजावत तथा भेला हुन रोक लगाइएको छ।

तनावग्रस्त क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा तैनाथ गरिएको छ। कर्फ्यु अवधिभर कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाइने प्रशासनले स्पष्ट पारेको छ।