पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता अपनाउन आग्रह गरेकी छन्।
काठमाडौँ– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संवेदनशील परिस्थितिमा उच्च संयमता अपनाउन आग्रह गरेकी छन्। उनले कुनै पनि प्रकारका अफवाह र उक्साहटपूर्ण अभिव्यक्ति नदिन सबैमा अनुरोधसमेत गरेकी छन्।
पूर्वराष्ट्रपति भण्डारीले आज प्रेस विज्ञप्ति जारी गरेर केही दिनयता सुनसरीलगायत देशका केही स्थानमा उत्पन्न सामुदायिक तनाव तथा हिंसात्मक घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएकी छन्। उनले उक्त घटनामा ज्यान गुमाएका तथा अन्य केही व्यक्ति घाइते भएको समाचारले आफूलाई अत्यन्त दुःखित बनाएको भन्दै घटनामा परी दिवङ्गत भएकाहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेकी छन्।
“नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक तथा बहुसांस्कृतिक विशेषताले सम्पन्न राष्ट्र हो। विविधताबीचको एकता, पारस्परिक सम्मान र सामाजिक सद्भाव नेपालको मौलिक पहिचान तथा गौरव हो, त्यसको संरक्षण सबैको साझा दायित्व हो। हाम्रा पुर्खाले निर्माण गरी पुस्तौँदेखि गर्वपूर्वक जोगाउँदै आएको अमूल्य परम्परालाई कुनै पनि परिस्थितिमा कमजोर हुन दिइने छैन”, विज्ञप्तिमा भनिएको छ।
कानूनी शासन, आपसी विश्वास र निरन्तर संवादका माध्यमबाट मात्र यस्ता समस्याको दिगो समाधान सम्भव हुने भएकाले नेपाल सरकार, सम्बन्धित प्रशासनिक निकाय तथा सुरक्षा निकायलाई घटनाको निष्पक्ष, पारदर्शी र विश्वसनीय छानबिन गरी दोषीलाई कानूनबमोजिम कारबाही गर्न, पीडितलाई न्याय सुनिश्चित गर्न तथा प्रभावित क्षेत्रमा शान्ति, सुरक्षा र नागरिकको विश्वास पुन: स्थापित गर्न आवश्यक सबै कदम चाल्न उनले आग्रह गरेकी छन्।
सामाजिक सद्भाव कायम राख्न आग्रह
त्यस्तै, सप्तरीमा बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव, शान्ति र सुरक्षा कायम राख्न आह्वान गरेको छ। बैठकले सामाजिक सञ्जालमार्फत अफवाह फैलाउने, धार्मिक आस्था, संस्कृति वा समुदायलाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिने, अमर्यादित टिप्पणी गर्ने तथा सामाजिक सद्भाव बिगार्ने गतिविधि नगर्न सबै पक्षलाई आग्रह गरेको हो।
राजनीतिक दल, स्थानीय तहका प्रमुख तथा अध्यक्ष, पत्रकार, नागरिक समाज, बुद्धिजीवी र अभिभावकले आ-आफ्नो ठाउँबाट संयमता अपनाउनुपर्नेमा जोड दिँदै बैठकले सुनसरी घटनालाई आधार बनाएर सप्तरीमा हुन सक्ने प्रदर्शन र अराजक गतिविधिबाट थप क्षति एवं अप्रिय अवस्था सिर्जना हुन नदिन सरोकारवालाले अभिभावकमार्फत आफ्ना सन्तानलाई शान्ति, सुरक्षा, सद्भाव र अनुशासनको सन्देश दिनुपर्ने निर्णय भएको सप्तरीका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण श्रेष्ठले जानकारी दिए।
बहुजातीय, बहुभाषिक र बहुधार्मिक पहिचानलाई कायम राख्दै सामाजिक एकता सुदृढ बनाउन वातावरण निर्माण गरिने पनि निर्णयमा उल्लेख गरिएको छ। त्यसैगरी विद्यालय तथा क्याम्पसमा अध्ययनरत विद्यार्थी कुनै प्रकारका उच्छृङ्खल गतिविधिमा संलग्न हुन नदिन क्याम्पस प्रमुख, प्रधानाध्यापक तथा शिक्षक-शिक्षिकाले विशेष पहल गर्ने निर्णय गरिएको छ।
बैठकले प्रदर्शनमा बालबालिकाको प्रयोग पूर्ण रूपमा नियन्त्रण गर्नुपर्नेमा पनि सहमति जनाएको छ। जिल्लामा विभिन्न जातजाति, भाषाभाषी, धर्म र समुदायबीच आपसी एकता, सहिष्णुता र भ्रातृत्व कायम राख्न स्थानीय तहसम्म सद्भाव र्याली तथा संवाद कार्यक्रम सञ्चालन गरिने निर्णय गरिएको छ।
साथै सुनसरी घटनाको पारदर्शी र निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनी कारबाही गर्न तथा पीडित पक्षलाई क्षतिपूर्ति र घाइतेहरूको उपचारको व्यवस्था गर्न सम्बन्धित निकायसमक्ष अनुरोध गर्ने निर्णय गर्दै बैठकले सामाजिक सद्भावमा आँच पुग्न सक्ने गतिविधिप्रति सजग रहन सबै नागरिकलाई आग्रह गर्ने निर्णय गरेको जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
