देश र समाज बदल्छु भनेर राजनीतिमा लागेकाहरूले नै भाषिक र सामुदायिक संवेदनशीलता नदेखाउनु लाजमर्दो हो। अझ, युगौँदेखि उत्पीडनमा परेका समुदायप्रति त्यस्तो टिप्पणी गर्नु झनै बढी असंवेदनशिल हुनु हो।
२०७३ भदौ २२ गते एमाले नेता शंकर पोखरेलले मधेशी समुदायलाई लक्षित गर्दै सामाजिक सञ्जाल ट्विटर (अहिले एक्स) मा लेखेका थिए, 'मधेशी जनता अधिकांश काला हुन्छन्, त्यसैले मधेशी मोर्चाले कालो दिवस मनाउँदै छ।' यस्तो अत्यन्त संवेदनशील प्रतिक्रियाबारे व्यापक विरोध भएपछि उनले ट्विट डिलेट गर्दै आफ्नो बचाऊ गर्दै अरू केही ट्विट लेखे।
यहाँनिर के प्रस्टीकरण आवश्यक छ भने अहिले पनि कतिपय विषयको विरोध गर्दा मान्छेहरू कालो रङको प्रयोग गर्छन्। कुनै उत्पीडनको दिनलाई कालो दिवसका रूपमा मनाउँछन्। 'हातमा कालो पट्टी बाँधेर फलानो/हरू विरोधमा उत्रे' भन्दै अहिले पनि समाचारहरू लेखिने/पढिने गरेका छन्। कालोलाई विरोधको प्रतीक बनाउनु आफैमा गलत हो। कालो रङ वा प्रतीकलाई स्पष्ट रूपमा राजनीतिक विरोधको रङ बनाउने काम सन् १८८० मा शुरू भएको युरोपको अराजकतावादी आन्दोलन (अनार्किस्ट मुभमेन्ट) ले गरेको देखिन्छ। तर ऐतिहासिक विभेद र अत्याचारमा परेका कालो समुदायको बर्खिलाप छ यो अवधारणा।
कालो समुदाय/जात विरुद्धको घृणा र द्वेष संसारभर भएको चाहिँ सत्य हो। अमेरिका र युरोपमा पनि त्यो छ। अमेरिकामा सो व्यापक भएको दृष्टान्त बेलाबेला काला समुदायका व्यक्तिलाई श्वेत अमेरिकी प्रहरी-प्रशासनले दमन र हत्या गरेका खबरहरूबाट बुझिन्छ, जसमध्ये अमेरिकामा २०२० मे २५ मा भएको जर्ज फ्लोयडको हत्याको घटना चर्चित छ। त्यसपछि फैलिएको 'ब्ल्याक लाइभ्स म्याटर' (कालो वर्णको मान्छेको जीवनको मूल्य छ) नामक आन्दोलन विश्वभर फैलिएको थियो। कम कालो व्यक्तिले बढी कालोलाई घृणाको दृष्टिले हेर्ने अभ्यास 'कृष्ण वर्ण' समुदायमै समेत देखिन्छ। हिमाल, पहाड, तराई सबैतिर त्यस्तो देखिन्छ। पङ्क्तिकार स्वयंले त्यस्तो दृष्टान्त देखे/भोगेको छ।
देश र समाज बदल्छु भनेर राजनीतिमा लागेकाहरूले नै भाषिक र सामुदायिक संवेदनशीलता नदेखाउनु लाजमर्दो हो। अझ, युगौँदेखि उत्पीडनमा परेका समुदायप्रति त्यस्तो टिप्पणी गर्नु झनै बढी असंवेदनशिल हुनु हो। संरचनागत रूपमै कमजोर पारिएका समुदाय/लिंगप्रति गरिने छेडखानी संरचनागत लाभ पाएकाको छेडखानी (यहाँ विरोध/प्रतिरोध) भन्दा बिलकुलै फरक हो।
बाघले गर्ने विरोध र मृगले गर्ने प्रतिरोध बिलकुलै फरक हो।
भर्खरै (सम्भवतः फागुनको २१ को चुनावको उम्मेदवारीको मनोनयन गर्ने क्रममा मंगलबार) अर्का एमाले नेता महेश बस्नेतले मैथिली भाषाको 'छौँडा/छौँरा' (छाेरा/ठिटा) शब्दको भद्दा मजाक उडाए। बस्नेतले त्यस शब्दलाई 'छाउरा' बुझे र बालेनले प्रयोग गरेको शब्दलाई कुकुरको छाउराको रूपमा अर्थ्याउँदै आफूले ठुलै भेद खोलेको झैँ दंग परे। पहाडिया खसआर्य समुदायले कुकुरको बच्चालाई छाउरा पनि भन्छन्, जसरी बिरालोको बच्चालाई न्याउरा भन्छन्। उसो त पहाडमै कतिपयले आफ्नो बच्चालाई प्रेमपूर्वक 'मेरो छाउरो' पनि भन्छन्। तर आम रूपमा छाउरो भन्नु कुकुरको छाउरो खसआर्य-नेपाली भाषामा।
(यहाँ अर्को प्रस्टीकरण के आवश्यक छ भने कसैलाई घृणा/निन्दा व्यक्त गर्नको लागि कुकुर, सुँगुर, गोरूजस्ता शब्द प्रयोग गर्नु उत्तिकै गलत हो। मान्छेले झैँ अपराध पशुले गर्दैनन्, तिनले जे जति कृत्य/कर्तव्य गर्छन्, बाँच्न र पुनरुत्पादन गर्न गर्छन्। बरु मान्छे शासित संसारमा पशुपन्छी सबैभन्दा परित्यक्त र पीडित छन्। तापनि, उत्पीडनको सबैभन्दा पिँधमा रहेका पशुपन्छीलाई मान्छे अर्को मान्छेको निन्दाका लागि तुलना गर्छ। यो आफैमा उदेकलाग्दो छ र यस्तो हरकत कमसेकम यस युगमा उचित छैन।)
महेश बस्नेतले आउँदो फागुन २१ को चुनावका लागि झापा ५ मा एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध भिडिरहेका काठमाडौँका पूर्व मेयर बालेन्द्र शाह (बालेन) ले पछिल्लो पटक जनकपुरमा गरेको भाषणको सन्दर्भमा त्यस्तो संवेदनशील टिप्पणी गरेका हुन्। बालेनले भाषणमा भनेका थिए, "आइ एक मधेशी छौँडा पीएम बनेवाला है, ओहिला घण्टीमे भोट नइ देऊ, सही लोग आवेवाला छै तेहिला घण्टी मे भोट देऊ।" (आज कुनै मधेशको छोरा पीएम बन्छ भन्ने ठानेर घण्टीमा भोट नदिनुहोस्, सही व्यक्ति आउँछ भनेर घण्टीमा भोट दिनुहोस्।)
बालेनले प्रयोग गरेको छौँडा शब्दलाई लिएर बस्नेतले भद्दा र संवेदनहीन मजाक गरे, जबकि मिथिलाञ्चलमा छौँडा प्यारो शब्द हो। छोरालाई यहाँ छौँडा/छोरा भन्ने गर्छन्। देशभर सञ्जाल भएको एमालेमा मधेशमा पनि व्यापक जनसंगठन पक्कै होला। जनसंगठनमा धेरै मैथलीभाषी होलान्। धेरै मैथली भाषीले एमालेलाई भोट पनि दिएकै होलान् र अब पनि देलान्, तर एउटा समुदायले प्रेमले प्रयोग गर्ने शब्दलाई लिएर बस्नेतले गरेको टिप्पणी त्याज्य छ।
चार वर्षअघि अहिले रास्वपाकी केन्द्रीय सदस्य रहेकी ज्वाला सङ्ग्रौलाले यस्तै हरकत गरेकी थिइन्। २०७८ सालमा ट्विटरमा एउटा भिडियो सार्वजनिक भयो, जसमा रंगभेदी शब्द प्रयोग गरेर प्रहरी सहायक निरीक्षक (असई) मणिकान्त झालाई अपमान गरेकी थिइन्। मधेशी अनुहार देख्ने बित्तिकै सङ्ग्रौलाले प्रहरीसँग उनको नाम सोधेकी थिइन्। नाम सुनेपछि उनले भनेकी थिइन्, ‘‘तपाईँ मधेशी, अब उता मधेशतिर जाऊ, खेती किसानी गर्नू। ट्राफिकको जागिर खाएर काम छैन।’’ त्यति मात्र नभएर उनले ती प्रहरीको सरुवा गरिदिने धम्की पनि दिएकी दिइन्।
यो मात्रै होइन, उनले समाजमा अफवाह फैलाउन पनि केही पटक भूमिका खेलेकी थिइन्। खास गरी पहाडतिर मधेशी/भारतीय मूलका (खास गरी महिला) देख्ने बित्तिकै बच्चाचोरको आरोप लगाउँदै सामाजिक सञ्जालमा बच्चा चोर भन्दै त्यस्ता महिलाको फोटोसमेत हाल्ने अभ्यास केही वर्षयता बेलाबेला देखिने गरेको छ। (उसो त मधेशमा समेत यौनिक अल्पसंख्यक, गरिब र मागेर हिँड्नेहरूलाई बेलाबेला बच्चा चोरको आरोप लगाएर निर्घात कुटपिट गर्ने गरिएको भेटिन्छ।)
सङ्ग्रौलाले त्यस्तै अपुष्ट र मधेश-द्वेसी भिडियो र तस्वीर उनले बेलाबेला शेयर गरेकी थिइन्। सामाजिक सञ्जालमा फैलिएका त्यस्ता अफवाहले विपन्न महिलामाथि निर्मम कुटपिट र ज्यानै जाने खतरा हुन्छ। तर यस्ता हरकत अहिले पनि बेलाबेला प्रकट हुन्छ। पहाडतिर मधेश/मधेशीप्रति द्वेष र अफवाह सिर्जना हुनुमा पुरानो समयदेखि नै मधेशी लक्षित अफवाह/कथन जिम्मेवार छ, जहाँ मधेशीहरूले बच्चा चोर्छन्, धोक्रामा हालेर लैजान्छन् भनिन्थ्यो। सम्भवतः अहिले पनि त्यस्ता कथन जिउँदै होलान्।
मधेशी प्रतिको ज्वालाको द्वेसी-सोचले कतिपय पहाडी मूलका मान्छेको मनोविज्ञानलाई प्रतिनिधित्व गर्छ। र, गर्छ पोखरले र बस्नेतको सोचले पनि। तर पनि बालेन र रविहरूले ज्वाला सङ्ग्रौलाहरूलाई यसबारे प्रश्न गर्दैनन्। किनकि यस्ता 'झिना मसिना कुरा' यिनका मुद्दा होइनन्। उसो त मुद्दा नहुनु नै यिनको मुद्दा हो। पोखरेले र बस्नेत पनि त्यही मार्काका हुन्। एमाले मुख्यालयमा ओली विराजमान भएसँगै मुद्दा यिनको पार्टीबाट विलुप्त भइसकेको छ।
यिनीहरू कालो हुनुलाई कमसल ठान्छन्। खेती किसानी गर्ने र गम्चा/लुंगी र चप्पल लगाउनेहरूलाई दोस्रो स्तरको ठान्छन्। मधेशका भाषा र पहिचानलाई हेय भावले हेर्छन्। तिनले मधेशी र पहाडीयालाई 'मधेशी र नेपाली'को आलोकमा हेर्छन्। उडाउँछन्, होचो अर्घेल्याइँ गर्छन्।
औपचारिक शिक्षा र अवसरबाट वञ्चित कुनै दुरदराजको मान्छेले जातीय/भाषिक संवेदनशीलता नबुझ्नु अलग कुरा, तर राज्यको मन्त्री र ठूलो पार्टीका नेता भइसकेकाहरूबाटै यस्ता संवेदनहीन कर्तुत प्रकट भएबाट के स्पष्ट हुन्छ भने यस देशमा सामाजिक न्याय र वैचारिक जागरणको व्यापक खाँचो छ। भात र अल्गोरिदमको पासोमा अल्झिरहेका नेपालीमाझ के त्यस्ता जागरण सम्भव छ? जागरणहरू चलाइएनन् र चलेनन् भने अर्को तवाहीको प्रतीक्षा छ।
(उकोलोको विचार खण्डमा छापिएका सामग्री लेखकका निजी हुन्।)
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
