पेशेवर अपराधीले गर्ने हत्याहिंसा त छँदै थियो, यहाँ उल्लेख्य संख्यामा रहेका राजपुत, भूमिहार, ब्राह्मणहरूको ‘दबंगई’ पनि उस्तै। फरक के भने, पेशेवर अपराधी कट्टा प्रयोग गर्थे, जमिनदारहरू लाइसेन्सी राइफल।
हामी ‘मिनी चम्बल’ भन्ने गर्थ्यौं, उतिबेला ‘ग्याङ्स अफ वासेपुर’ र ‘मिर्जापुर’ आइसकेका भए अरू नै केही भनिन्थ्यो होला। मिर्जापुर त गाविस नै थियो, अहिले बलरा नगरपालिकामा पर्छ। अपराध घनिभूत थियो। चुनावी हिंसा त भो कुरा नगरौँ।
टीएन शेषनले डण्डा चलाउनुअघि बिहारमा जस्तो चुनाव हुन्थ्यो, फोटोकपी नै थियो– कतिपयले बुढेसकालसम्म पनि मतपत्र देख्न पाएनन्। पहिलो संविधानसभा चुनावका क्रममा पारि रौतहटमा अफताब आलमको घरकै जस्तो बम बनाउने क्रममा पड्केर केही व्यक्ति मरे पनि गुपचुप ‘सेटल’ भएको सर्लाहीकै पत्रकार साथीहरू सुनाउने गर्छन्। मतदाता परिचय पत्र, सुरक्षाकर्मीको बाक्लो उपस्थिति, सडकले पुर्याएको सुगमताले गर्दा चुनावी हिंसा न्यूनीकरण भएको छ।
नजिकै नेपाल–भारत सीमा अपराध गरेपछि फुत्त सीमापार गर्न सकिने। चम्बल नदीको वरपरको क्षेत्रका ‘विहड’ले अपराधीहरूलाई ‘सेल्टर’ सहज भएझैँ यहाँ पनि बागमती नदीको किनारको बस्ती भएकाले थप सजिलो थियो। बागमती यहाँ काठमाडौँमा जस्तै केही मिटर फैलिएर बग्ने होइन, किलोमिटर फराकिलो छ। बाढीको सिजनमा वारपार भई गडगडाउने बागमती अरूबेला काँसघारीले ढाकिएको हुन्छ। अहिले कांग्रेस सभापति गगनकुमार थापाको उम्मेदवारीका कारण चर्चामा रहेको सर्लाही–४ उतिबेला सर्लाही–५ हुने गर्थ्यो। दुईवटा संविधानसभा चुनावमा त यो सर्लाही–६ बन्न पुग्यो।
पुग्न डराइन्थ्यो। अन्यत्रका मान्छे कामै नपरी पुग्दैनथे, राजमार्गतिर बसोबास गर्ने पहाडियाहरूका लागि त त्यो भेग किस्सा–कहानीमै सीमित थियो। पेशेवर अपराधीले गर्ने हत्याहिंसा त छँदै थियो, यहाँ उल्लेख्य संख्यामा रहेका राजपुत, भूमिहार, ब्राह्मणहरूको ‘दबंगई’ पनि उस्तै। फरक के भने, पेशेवर अपराधी कट्टा (घरेलु पेस्तोल) प्रयोग गर्थे भने, जमिनदारहरू लाइसेन्सी राइफल। यहीको हथियौल (हाल बलरा नगरपालिका)मा तत्कालीन प्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहकै घरमा परिवारकै सदस्यबीच फायर खुलेको समाचार पढिएको थियो।
विसं. २०५० को दशकको मध्यतिर तीनचार पत्रकार साथी बटुलेर ‘मिनी चम्बल’ पुगेका हामीलाई एकजना राजपुत जमिनदारले कोट्याइ–कोट्याइ सदरमुकामदेखि यहाँसम्म आइपुग्नुको ‘मकसद’ सोधेको सम्झिन्छु। पत्रकार भएपछि सदरमुकाममा सीमित हुनुहुँदैन, रिपोर्टिङ गर्न दूरदराजमा पुग्नपर्छ भनेर सम्झाउन खोज्ने हामी, उनी पत्याउँदै नपत्याउने। “हेर्नूस, यहाँ सीडीयो, एसपीसापहरू पनि आउन डराउँछन् पञ्चायतकालदेखि,” उनले हाम्रो कुरा अपत्यार गर्दै भनेका थिए, “आइहाले पनि ३/४ बजेपछि रोकिँदैनन्।”
मिनी चम्बलमा महन्थ
रिपोर्टिङ गरेको पहिलो चुनाव (२०५६ सालको प्रतिनिधिसभा) मा सर्लाही–५ (अधिकांश भाग अहिले क्षेत्र नं. ४ मा पर्छ) मा कांग्रेस उम्मेदवार महन्थ ठाकुरले ‘ह्याट्रिक’ गरेका थिए। मिनी चम्बल भनिने क्षेत्रमा सादगीपूर्ण जीवनशैलीका गान्धीवादी उम्मेदवारको ह्याट्रिक अजिब छैन त?
फेरि महन्थजी त खास महोत्तरीका, सर्लाहीको सदरमुकाम मलंगवा (उतिबेला क्षेत्र नं. ३) मै डेरा गरी बसेर वकालतका साथै कांग्रेसको राजनीतिमा सक्रिय रहेका पात्र पहिलोचोटि चुनाव लड्न जाँदा बाहिरिया नै थिए। २०४८ सालको चुनावताका उनी पार्टीको जिल्ला कार्यसमितिका प्रवक्ता थिए। चुनाव जितेपछि प्रतिनिधिसभाको उपसभामुख भएपछि चाहिँ उनी कांग्रेसको ‘कद्दावर’ नेता रहेछन् भन्ने थाहा पाइयो। विसंं. २०५० को दशकमा उनी फरकफरक सरकारमा सूचना तथा सञ्चारमन्त्री, वन तथा भू–संरक्षण, कानूनमन्त्री भए।
सर्लाहीका सबै चुनाव क्षेत्र दक्षिणमा नेपाल–भारत सीमाबाट शुरू भई उत्तरमा चुरेमा ठोक्किन्थे। सबै क्षेत्रमा मधेशी बहुमत र पहाडिया मतदाता उल्लेख्य संख्यामा थिए। पहाडियाबहुल क्षेत्रमा कांग्रेसभन्दा एमाले मजबुत थियो। महन्थजीले पहाडिया क्षेत्रमा राम्रो मत पाए पनि एमालेभन्दा कमै हुन्थ्यो, दक्षिणतिर पाउने मतले नै उनलाई जिताउँथ्यो।
दक्षिणतिर उनको भोट व्यवस्थापनको जिम्मा सूर्यकान्त मिश्र उर्फ ललनले लिन्थे। हेर्दा सुशिक्षित, विनम्र, भाषणकुशल ललन फायर खोल्न पनि पछि नपर्ने ‘दबंग’ थिए। २०५५ सालतिर उनको हत्या भएपछि महन्थजीकै अनुरोधमा श्रद्धाञ्जली सभामा प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला नै पुगेका थिए। हत्यापछि सीमापार गरी बिहारतिरै अपराधकर्ममा व्यस्त देवेन्द्रसिंह भूमिहार त्यसको धेरै वर्षपछि उतै मारिए।
राजा ज्ञानेन्द्रको प्रत्यक्ष शासनविरुद्ध सीमापारि बसेर सक्रिय महन्थ २०६२/६३ सालको परिवर्तनपश्चात धेरै समय कांग्रेसमा टिकेनन्। वैशाखमा राजालाई निष्क्रिय बनाइए पनि जाडो लाग्दानलाग्दै मधेश विद्रोह शुरू भयो। विद्रोहपछि उनको नेतृत्वमा तराई मधेश लोकतान्त्रिक पार्टी (तमलोपा) गठन भयो।
कांग्रेस छाडेपछि चुनावी नतिजामा महन्थजीलाई ‘पनौती’ लाग्यो। पहिलो संविधानसभा (२०६४) चुनावमा मधेशी जनअधिकार फोरमका शिवपुजन रायसँग पराजित भएका उनी दोस्रो संविधानसभा (२०७०)मा कांग्रेसका अमरेशकुमार सिंहसँग पराजित भए। संविधानसभाका लागि क्षेत्र निर्धारण हुँदा सर्लाहीमा ६ वटा कायम थिए, महन्थजी–अमरेश–शिवपुजनको ‘ब्याटल ग्राउन्ड’ क्षेत्र नं. ६ (अहिले धेरै भाग ४ नम्बरमा) थियो।
लगातार दुई हार बेहारेपछि पुर्ख्यौली थलो महोत्तरीतिर लागेका महन्थजीले २०७४ सालको चुनाव राष्ट्रिय जनता पार्टी (राजपा) बाट जिते। हालै ८३ वर्षको उमेरमा उनी कांग्रेस–एमाले गठबन्धनमा मिसिएर राष्ट्रियसभाका लागि निर्वाचित भएका छन्। सम्धिनीलाई संविधानसभा सदस्य, छोरीलाई टिकटका कारण आलोचित भए पनि मौजुदा राजनीतिमा महन्थजी जति आर्थिक विवादमुक्त अनि सादगीपूर्ण जीवन जिउने नेता भेट्न मुश्किल छ।
वकालत गरेर मलंगवामा जोडेको एकथान घर पनि उनले कांग्रेसको पार्टी चलाउन दिएका थिए, उनी जुन पार्टीमा गयो त्यही पार्टीको अफिस हुने गर्छ। मलंगवा पुग्दा शुभचिन्तककै घरमा बस्थे। काठमाडौमा पनि आफन्तकै घरमा बस्ने उनले छोरीको बिहेपछि चाहिँ सम्धी–सम्धिनीको घरमै स्थायी सेल्टर बनाए। सांसदको टिकटै किनबेच हुने युगमा सेल्टर दिने आफन्तलाई भाग दिए भनेर कति आलोचना गर्नु!
महन्थजीले क्षेत्र छाडेपछि सर्लाही–४ मा तीन दबंग पात्रहरूको दबदबा छ– अमरेश, सुरेन्द्र/वीरेन्द्र सिंह र शिवपुजन राय।
अमरेशकुमार सिंह
जनआन्दोलन २०६२/६३ पछि सरकार–माओवादी वार्तामा ‘म्यासेन्जर’को भूमिकाबाट चर्चामा आउनुअघि अमरेशको जिल्ला राजनीतिमा चर्चै थिएन। अमृत साइन्स क्याम्पसका माडसा’प अमरेशले २०५५ सालमा महन्थजी सूचना तथा सञ्चारमन्त्री हुँदा पाएको गोरखापत्र संस्थान सञ्चालक समितिको सदस्यको नियुक्ति जिल्लामा चिनिन पर्याप्त थिएन। राजधानीमा चिनिन थालेपछि चाहिँ ‘सर्लाहीपुत्र’को जिल्लामा चर्चा नहुने कुरै भएन।
२०६४ सालको चुनावमा तत्कालीन सर्लाही–६ का लागि कांग्रेसको टिकट लिएर जिल्ला झरेका उनको एक दशकजति जिल्ला राजनीतिमै दबदबा रह्यो। काठमाडौँ मात्र होइन दिल्लीसँग समेत सम्बन्ध भएको भन्ने नै काफी थियो। महन्थजी नै साइड लागिसकेको अवस्थामा उनको लागि टिकट ठूलो कुरो थिएन, चुनावचाहिँ महाभारत भइदियो। शिवपुजन जितेर महन्थजी निकटतम प्रतिद्वन्द्वी हुँदा उनले तेस्रो स्थानमा चित्त बुझाउन पर्यो। अमरेश–शिवपुजनकै कारण चुनाव हिंसात्मक भइदियो।
२०७० सालको चुनावमा महन्थजीलाई मात दिएका उनले २०७४ मा देशैभरि वामगठबन्धन र कोर मधेशमा फोरम–राजपा गठबन्धनले दिग्विजय गर्दा पनि जितिछाडे। महन्थजीले चुनावी मैदानमा प्रवेशै नगरेको तथा शिवपुजनको उम्मेदवारी सर्वोच्च अदालतले चुनावको दुई दिनअघि मात्र खारेज गरिदिएको लाभ अमरेशलाई भयो।
कांग्रेसको १३औँ महाधिवेशनमा शेरबहादुर देउवाको पक्षमा खुलेका उनको सम्बन्ध २०७९ को आमचुनावमा आइपुग्दा देउवा दम्पतीसँग तिक्त भइसकेको थियो नै, दिल्ली पनि दूर भइसकेको थियो। त्यो चुनावमा शुरूमा त कांग्रेसका तत्कालीन महामन्त्री गगनले आफै सर्लाही–१ जाने भनेर टिकट ‘होल्ड’ गरिदिए। अमरेशको टिकट कटाउन दत्तचित्त देउवा दम्पतीले चन्दा चौधरीलाई टिकट दिन खोज्दा महामन्त्रीले आफै जान्छु भनेपछि चौधरीलाई समानुपातिक सूचीमा राखियो। गगन नजाने भएपछि क्षेत्र नं. २ का नागेन्द्रकुमार रायलाई टिकट थमाइयो, जो टिकट माग्नै आएका थिएनन्।
स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका अमरेश बागी कांग्रेसकै रूपमा मतदातासमक्ष पेस भए। “म कांग्रेसै हुँ, टिकट नपाउँदा स्वतन्त्र भएर आउनपर्यो,” कांग्रेस समर्थक मतदातासमक्ष उनी भन्ने गर्थे, “तपाईंहरूले चुनाव जिताएर पठाएपछि कांग्रेसमै जाने हो।”
तर उनको घरवापसीको वातावरण बनेन। देउवा दम्पतीसँग तिक्तता गालीबेइज्जती मुद्दासम्म तन्कियो। मुख छाडेरै लागेका कारण गगनसँग पनि सम्बन्ध चिसियो। कांग्रेसले उनीसहित कारबाहीमा परेका सबैउपरको कारबाही चुनाव नजिकिएपछि मात्रै फुकुवा गर्यो।
विशेष महाधिवेशनका कारण गगन बाहिरिएपछि डा. शेखरमार्फत कांग्रेसकै टिकट फुत्किने अपेक्षामा सम्भवतः उनी थिए, निर्वाचन आयोगले गगनहरूलाई झण्डा र रूख दिएपछि राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गर्न बेर लगाएनन्।
शिवपुजन राय
भारीभरकम शरीरका अमिरी राय (यादव) तत्कालीन गडैया डुमरीया गाविसको अध्यक्ष हुने गर्थे। पञ्चायतकालीन प्रधानपञ्च उनी २०४६ सालको परिवर्तनपछि कांग्रेसमा थिए। मनुस्मारा सिँचाइ प्रणालीको मानपुर बराज खण्डको जलउपभोक्ता समिति अध्यक्ष पनि उनै थिए। डाङ्डुङे स्वभावका छोरा शिवपुजन चाहिँ काम नगरी तलब बुझ्ने कर्मचारी थिए, मुनस्मारा सिँचाइ प्रणालीको बसबरिया क्याम्पमा।
बाउको बिडो थाम्न अघि सरेका शिवपुजनले पहिलो संविधानसभा चुनाव (२०६४) मा तत्कालीन मधेशी जनअधिकार फोरमको उम्मेदवार बनेका थिए। पहिलो र दोस्रो मधेश आन्दोलनको आगोका बीच मधेशको चुनाव फरक हुनेवाला थियो। कांग्रेस, एमाले, राप्रपा छाडेर मधेशमा उदाएका क्षेत्रीय पार्टीहरू फोरम, तमलोपा, सद्भावना पार्टीको टिकट लिएर चुनाव लड्ने लहर थियो।
पहिलो संविधानसभामा सर्लाहीको तत्कालीन क्षेत्र नंं. ६ मा महन्थजी पहिलोचोटि आफैले बनाएको तमलोपाको टिकटमा मैदानमा थिए भने, अमरेश कांग्रेसको टिकटमा। दक्षिण छिमेकीको एकदमै करिबी ठानिने दुवै एकै क्षेत्रमा किन भिडे भन्ने चर्चाको विषय हुन्थ्यो। महन्थजी र अमरेशको कारण ‘हाइप्रोफाइल’ बनेको क्षेत्रमा ‘लोप्रोफाइल’ का शिवपुजनले बाजी मारे। तर यही एकचोटि सांसद हुँदा गरेको हर्कतले चुनावै लड्न अयोग्य बनाइदियो।
बाहिरियालाई उनको जितमा मधेश आन्दोलनको रापताप कारण लागे पनि खासमा जातीय समीकरण नै निर्णायक थियो। २०७० सालको चुनावमा महन्थजी र अमरेश दुवै फेरि भिडे, शिवपुजन पनि थिए। चुनाव अमरेशले जिते।
२०७४ सालको चुनावमा शिवपुजन वामगठबन्धनको उम्मेदवारको रूपमा तत्कालीन एमाओवादी उम्मेदवारका रूपमा मैदानमा थिए। चुनावको अन्तिम समयमा सर्वोच्च अदालतले उनको उम्मेदवारी खारेज गरिदिएपछि रातारात उनले आफ्नो भोट राजपा उम्मेदवार राकेश मिश्रलाई खन्याइदिए। राकेशले कडा टक्कर दिए पनि विजयी अमरेश नै भए। पहिलो संविधानसभा सदस्य हुँदा रातो पासपोर्ट दुरूपयोग गरेको मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको आधारमा उनको उम्मेदवारी खारेज भएको थियो। उनको मुद्दा सर्वोच्चमा विचाराधीन नै छ।
२०७९ सालको चुनावमा शिवपुजन त उम्मेदवार बन्न सक्तैन थिए, श्रीमतीलाई माओवादीको समानुपातिक सूचीमा समावेश गराए। कांग्रेस–माओवादी गठबन्धनबाट उम्मेदवार नागेन्द्रकुमार रायको पक्षमा शिवपुजन हुनपर्थ्यो। तर उनले छोरी मधुमालालाई स्वतन्त्र उम्मेदवारी दर्ता गराए। श्रीमती माओवादीको सूचीमा, छोरा राजाबाबु माओवादीबाट रामनगर नगरपालिका प्रमुख छन्, तर छोरीलाई स्वतन्त्र उम्मेदवारी गज्जब छैन त?
खासमा शिवपुजन पार्टीको कारण बलियो भएका होइनन्, पार्टी उनको कारण क्षेत्रमा बलियो हुने हो। उनी १०/१२ हजार भोट त आफूले चाहेको ठाउँमा ‘ट्रान्सफर’ गर्दिनसक्ने व्यक्तिको रूपमा उनको चर्चा हुनेगर्छ। छोरीलाई स्वतन्त्र उम्मेदवारी दिलाउँदा १४ हजार भोट बटुलेर उनले प्रमाणित गरेका पनि छन्।
अघिको चुनावमा क्षेत्र नं. ४ मा आए गगनलाई सघाउने प्रतिबद्धताका साथ कुरिरहेका थिए। अन्तिम समयमा थापाले मन बदले, क्षेत्र नं. २ मा घरबास भएका नागेन्द्रलाई कांग्रेसको टिकट थमाइयो। कांग्रेसले यादवलाई नै उम्मेदवार बनाएपछि क्षेत्रमा आफ्नो जातीय आधार कमजोर होला भनेर उनले छोरीलाई अघि बढाएका थिए, आफनो भोट सुरक्षित गरे। क्षेत्रमा दोस्रो यादव नेता उनका लागि अस्वीकार्य छ।
अघिको चुनावमा छोरा अमनिश उम्मेदवारयोग्य उमेर नपुगेका कारण छोरीलाई अघि सारेका शिवपुजन यसपालि छोराकै लागि नेकपाको टिकट चाहन्थे। छोराको टिकट ‘कन्फर्म’ भइसकेको जानकारी पाएपछि लिन काठमाडौँ आए। नेकपाले डा. रजनिश यादव (उनकी आमा अनितादेवी माओवादीबाट प्रदेशसभामा उम्मेदवार भएकी थिइन्) लाई टिकट दिएपछि उनी एमालेको टिकट लिन महासचिव शंकर पोखरेलकहाँ पुगे।
सर्लाही–४ को टिकट रविसिंह कुशवाहाले लिएर चुनाव क्षेत्रतिर लम्किसकेका थिए। पोखरेलले कुनै हालतमा परिवर्तन नहुने जवाफ दिए। निर्माण व्यवसायी कुशवाहा एमाले महासचिव पोखरेलकै निकट हुन्। भदौ २४ गते आगजनी भएको एमाले केन्द्रीय कार्यालयको मर्मत रविकै अगुवाइमा भएको थियो। भोलिपल्ट (माघ ६) गते चुनाव क्षेत्रको चुनाव कार्यालयमा दुवैबीच लफडा हुँदाहुँदै अन्ततः अमनिशकै उम्मेदवारी दर्ता भयो।
माओवादीमा रहँदा शिवपुजन जनार्दन शर्माको नजिक थिए। बुबा अमिरीको काजक्रियाको तेह्रवीको प्रसाद ग्रहण गर्न हेलिकप्टर बन्दोवस्त गरी जनार्दनलाई घरमै ल्याएका थिए। जनार्दन त माओवादी छाडेर प्रगतिशील लोकतान्त्रिक पार्टीतिर लागे, शिवपुजन कम्तीमा आउने स्थानीय चुनावसम्म चाहिँ एमालेमै रहलान् की!
सुरेन्द्र/वीरेन्द्र सिंह
विसं. २०५० को दशकको मध्यतिर सुरेन्द्र सिंह मनुस्मारा सिँचाइ प्रणालीअन्तर्गत हिरापुर बराज खण्डको जलउपभोक्ता समिति अध्यक्ष थिए। सिँचाइका पेटी ठेक्काका लागि सदरमुकामतिर दौडिरहेका हुन्थे।
त्यही दशकको अन्त्यतिर सिँचाइ प्रणालीकै नहरको रूख (सिसौ) कटानी गरेकोमा वन मुद्दा लागेर बन्दी भए। राजेश मिश्र (हाल कान्तिपुर) ले ‘हिमाल पाक्षिक’मा स्टोरी गरेपछि अनुसन्धान भई तत्कालीन एसपी अरुण सिंह, डीएफओ राजा बराल, मानपुर बराज खण्डका जलउपभोक्ता समिति अध्यक्ष अमिरी राय (शिवपुजनका बुवा) समेत विरुद्ध मुद्दा चलेर विशेष अदालतबाट ठहर भएको थियो।
सिंहबाहेक माथि उल्लेख भएका सबै प्रतिवादीको सर्वोच्चबाट मुद्दा अन्तिम किनारा नलाग्दै निधन भइसकेको थियो। सुरेन्द्रको हकमा सर्वोच्चले सजाय घटाई ठहर गरिदियो। चुनाव लड्नै अयोग्य भएपछि सुरेन्द्र ‘ब्याकफुट’ धकेलिए, भाइ वीरेन्द्र ‘फ्रन्टफुट’मा आए। दोस्रोचोटि प्रदेशसभामा जितेका उनी प्रदेशको मन्त्रीसमेत भइसकेका छन्। कांग्रेसको जिल्ला सभापति रहेका सुरेन्द्रलाई सर्वोच्चले मुद्दा अन्तिम किनारा लगाएको केहीपछि केन्द्रले राजीनामा गराएको थियो।
उदय नभई वन मुद्दाले गर्दा राजनीति अस्ताएको अवस्थामा जिल्लाको राजनीतिमा अमरेशले ‘इन्ट्री’ मारे र चम्किए। ठेक्कापट्टाबाट साधन–स्रोतसम्पन्न भइसकेका सजातीय (भूमिहार) सुरेन्द्रले अमरेशकै जोडबलमा कांग्रेसको जिल्ला उपसभापति सम्मको राजनीतिक यात्रा गरेका थिए। अमरेश र सुरेन्द्र/वीरेन्द्रको दोस्ती बीचैमा दुश्मनीमा बदलियो। हाम्रोतिर दुश्मनी कडै हुन्छ, पुस्ता दरपुस्तासम्म लम्बिन सक्छ। ‘भाइका, बाबुका सबका बदला लेगा तेरा फैजल’सम्म पुग्न सक्छ।
ठूल्ठूलै ठेक्का पाइरहेका सुरेन्द्र कहिले अख्तियार त कहिले सम्पत्ति शुद्धीकरण अनि कहिले कता धाउन परेपछि दुश्मनी बढ्दै गयो, अमरेशकै उजुरी–उक्साहटमा आफूलाई दुःख दिने काम भइरहेको देख्नु अन्यथा पनि थिएन। संरक्षण दिने छहारी खोजिरहेका सुरेन्द्रले दुईवटा उपाय अपनाए। गुटगत हिसाबले शेरबहादुर देउवाको गुट रोजे। भविष्य देखिएका गगनसँग पनि नजिकिए।
गत जिल्ला अधिवेशनमा महाधिवेशन प्रतिनिधिमै हराइदिएर शेखर गुटबाट सहमहामन्त्री (मधेशी) मा प्रतिस्पर्धा गर्ने अमरेशको योजनामा चिसो पानी खन्याइदिए। त्यो चुनाव कस्तो थियो भने, अमरेश समर्थक र सुरेन्द्र/वीरेन्द्र मतदाताहरू (क्षेत्रीय प्रतिनिधि)ले छुट्टाछुट्टै लाइन लागेर भोट खसालेका थिए। गणनाअघि नै भोट संख्या थाहा भइसकेको थियो, लाइनमा उभिएकाको संख्याको आधारमा। हो, यही पराजयपछि हो अमरेश गगनको आलोचनामा आक्रामकरूपमा उत्रिन थालेको।
पछिल्लो चुनाव पनि जितेपछि त सुरेन्द्र/वीरेन्द्रले आफ्नो आधार इलाकामा अमरेशलाई छिर्नै नदिने प्रयत्न गरे। पोहोर कार्यक्रम गर्न खोज्दा अमरेशलाई खेदाइएको थियो, पुलिसले ‘रेस्क्यु’ गरेर गाडीमा चढाएको भिडियो नै भाइरल भएको थियो। आधार इलाकामा अमरेशलाई कसैले चिया ‘अफर’ नगरोस् भन्ने तहको छ, दुश्मनी।
प्रचण्डको नेतृत्वमा माओवादी–कांग्रेस सरकार छँदाको कुरा हो। सीडीओ–एसपीको टोली क्षेत्र नं. ३ मा सडकको निरीक्षणमा जाने भएछन्, सुरेन्द्र नै ठेकदार रहेको सडकको निरीक्षण टोलीमा अमरेश पनि समावेश भएछन्। अमरेशकै अगुवाइमा सीडीओ–एसपी गएको भनेर डा. आरजु देउवासमक्ष उजुर–वाजुर भएछ, देउवाबाट प्रधानमन्त्रीपुत्री स्वकीय सचिव गंगा दाहालसमक्ष आपत्ति प्रकट भएछ। गंगाले प्रचण्डको पीएसओ रहिसकेका सर्लाहीका एसपी नरेश सुवेदीलाई फोन गरी स्पष्टीकरण माग भएछ। नरेशले अमरेशलाई आफूहरूले समावेश गरेको नभई आफै घुसेका भनेर प्रष्ट पारेपछि मामिला रफादफा भएछ।
अब गगन
मधेशबाट जित्ने नै प्रधानमन्त्री हुने (देउवाबाहेक कांग्रेसबाट प्रधानमन्त्री भएका सबै मधेशबाटै) कांग्रेसमा मधेशबाट चुनाव लड्ने सपना देखिरहेका गगनलाई सर्लाही–४ देखाइदिने सुरेन्द्र/वीरेन्द्र नै हुन्। २०७९ सालको चुनावमा यो क्षेत्रबाट उम्मेदवारी दिने योजनालाई अन्तिम समयमा हापे पनि उनको प्राथमिकतामा छँदैथियो। अन्ततः यसपालि उम्मेदवारी दिएका छन्।
क्षेत्रका ५१ वडामध्ये आधाउधी वडा कांग्रेसले जितेको क्षेत्रमा पार्टी सभापतिका साथै देशका केही लोकप्रिय नेतामध्येका गगन बलियो हुने नै भए। अनुकूलताहरू थपिएका छन्। कांग्रेसकै सभापति, फेरि सम्भावित प्रधानमन्त्री हुनुको फाइदा अन्यत्र पनि नहुने होइन, कोर मधेशमा अझ बढी हुन्छ। शिवपुजनपुत्र अमनिशले टिकट पाइदिएको भए नेकपा जति बलियो हुन्थ्यो, डा. रजनिशले पाउँदा त्यति सशक्त हुने सम्भावना देखिएको छैन। उम्मेदवारी दर्ताको ‘डेडलाइन’ मा एमालेले टिकट फेरबदल गर्नुको लाभ पनि उनैलाई हुनेछ।
रविकै टिकटमा कायम भएको भए क्षेत्रमा सबैभन्दा धेरै रहेका कुशवाहा मत उल्लेख्य पाउने सम्भावना हुन्थ्यो। उज्यालो नेपाल पार्टीबाट डा. पिताम्बर कुशवाहा चुनावी मैदानमा छन्। विदेशको जागिर छाडेर महिना दिनअघि मात्र फर्केका उनी क्षेत्रमा परिचित छैनन्। अर्को ठूलो जातीय समूह यादवबाट एमाले, नेकपा र जसपा उम्मेदवार हुनुको लाभ पनि कांग्रेसलाई मिल्ने सम्भावना छ। अरू दुई ठूला समूह सहनी (मधेशका माझी) र दलितबाट बलिया उम्मेदवार देखिएनन्।
मधेशको पनि सर्लाही–४ जस्तो क्षेत्रमा बलियो पार्टीको सबैजसो जातीय समूहमा थोरबहुत जनाधार हुन्छ। आफ्नै जातको बलियो उम्मेदवार हुँदा सो जातको ठूलो मत उतै जाने प्रवृत्ति हुन्छ। पाँचौँचोटि भोट माग्दैगर्दा गरेका कामको फेहरिस्त दिनसक्नु अमरेशका लागि चुनौतीपूर्ण छ। ‘पहिलो मधेशी प्रधानमन्त्री बनाउन मलाई भोट दिनुस्’ र ‘प्रतिस्पर्धी टुरिष्ट उम्मेदवार हो’ भन्ने नै उनको प्रमुख मुद्दा हुन्।
गगनका चुनौती फरक खालका छन्। एक लाख २१ हजार मतदातामध्ये चार हजारजति पहाडिया मतदाता रहे पनि पहाडी हुनु उनको चुनौती होइन। सुरेन्द्र/वीरेन्द्र उनका शक्ति हुन् भने, कमजोरी पनि। दबंगईका कारण उनीहरूसँग असन्तुष्ट/पीडित कांग्रेसजनको पंक्ति पनि क्षेत्रमा छ। अब पार्टी सभापतिलाई जिताएर पठाएपछि त सिंहद्वय झन् बाघ बन्ने र उनीहरूको बफादार नभई राजनीति नै नचल्ने हो कि भन्ने आशंका त्यस्ताहरूमा छ।
अमरेशले यस्ता कांग्रेसीलाई तान्न प्रयत्न गर्ने नै छन्। उनले ‘सभापतिले जितेर गएपछि त झन् तिमीहरूको खैरियत छैन, अर्कोपालि सुरेन्द्रको छोराले टिकट पाउँछ, तिमीहरू चैँ तावेदारी गर्नु–बस्नु’ टाइपका कुरा भन्ने नै छन्। यस्ता सशंकित पार्टी पंक्तिलाई ‘सुरेन्द्र–वीरेन्द्रको मात्रै सभापति होइन म, सबैको हुँ, अन्याय हुन दिने छैन’ भन्नेमा आश्वस्त गराई प्रचारमा परिचालित गर्नपर्ने चुनौती छ।
चुनावी पर्यटकलाई क्षेत्र जानबाट रोक्नु उनको अर्को चुनौती हो। यतिबेला सर्लाही–४ देशैभरि र विदेशमा नेपाली समुदायमा चर्चाको विषय छ। क्षेत्र घुम्न वा चाकरी देखाउन जान चाहने अनेकन् छन्। सुरेन्द्र अस्ति भर्खर दिनमै सयौँ कांग्रेसीहरूले फोन गरेर क्षेत्र घुम्न आउछौँ भनिरहेको सुनाउँदै यस्तो भए बर्बाद हुने भनिरहेका थिए।
चुनावी पर्यटकले भोट बढाउन त कुनै योगदान गर्न सक्ने होइनन्, बरु घटाउने छन्। चुनाव क्षेत्रमा बाहिरियाको बाक्लो ओहोरदोहोरले यसै पनि स्थानीयलाई ‘इरिटेट’ गर्छ नै, बाहिरिया उम्मेदवारको मुद्दा उछाल्ने प्रयत्न गरिरहेका प्रतिस्पर्धीहरूलाई भन्न सजिलो बनाइदिन्छ। त्योभन्दा पनि संवेदनशील कुरा, पहाडियाहरूको एउटा बानी हुन्छ, मधेशी अनुहार देखेपछि हिन्दी (फेरि जान्नेचाहिँ हैन ‘ये ठाउँ क्या पर्ता है’ टाइपको) बोल्न तम्सिने।
शिक्षाको विस्तार र सामाजिक सञ्जालका कारण दूरदेहातका मधेशीहरूमा पनि नेपाली भाषा नबुझ्नेको संख्या न्यून भइरहेको छ। स्कुलै नगएका/गाउँ नछाडेका (महिला, विपन्न) हरूमा मात्रै हो नेपाली बुझ्न समस्या। यसैले पहाडियाले टुटीफुटी हिन्दी बक्दा मधेशीहरूको चित्त दुख्छ। यसैले चुनावमै कामलाग्ने बाहेकका बाहिरका पहाडिया अनुहारलाई क्षेत्र प्रवेश निषेध गर्नु गगनको अर्को चुनौती हो।
बालेनमार्फत पहिलो मधेशी प्रधानमन्त्री बनाउने लहरले अहिलेसम्म त सर्लाही–४ लाई खासै छोइसकेको छैन, दिनहरू धेरै बाँकी रहँदा लहर आउँदै आउदैन भन्न पनि सकिँदैन।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
