रास्वपाको आन्तरिक समीकरणले सोबितालाई चितवनको नयाँ र चुनौतीपूर्ण भूगोलमा पुर्याएको छ भने त्यहाँ उनको भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ।
काठमाडौँ— नेपालको संसदीय राजनीतिका केही क्षेत्र यस्ता छन्, जसको चुनावी नतिजाको प्रतीक्षामा देशैभरिका मानिस कौतूहलसाथ बसिरहेका हुन्छन्। त्यसैभित्र पर्ने गरेको छ— चितवन निर्वाचन क्षेत्र नम्बर ३।
लामो समयदेखिको कौतूहल र सामाजिक सञ्जालका अड्कलबाजीलाई चिर्दै आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले एउटा निर्णय गर्यो— आगामी फागुन २१ गते हुने निर्वाचनमा केन्द्रीय सदस्य सोबिता गौतमलाई चितवन–३ बाट प्रत्यक्ष उम्मेदवार बनाउने। संसदीय राजनीतिमा प्रवेश गरेको छोटो समयमै लोकप्रिय नेताको छवि बनाएकी गौतमले पार्टीको यो निर्णयलाई स्वीकार गर्दै मैदानमा होमिने घोषणा गरिसकेकी छन्।
यता, यहीँ भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई नेपाली कम्युनिस्ट पार्टीले उम्मेदवार बनाएको छ। यो निर्णयसँगै अब चितवन–३ को चुनावी मैदान केवल राजनीतिक प्रतिस्पर्धामा मात्र सीमित रहने देखिँदैन। यो क्षेत्र दुई प्रभावशाली महिला नेताहरू– सोबिता र रेणुबीचको प्रतिस्पर्धाले चितवन–३ को चुनावी माहौला रोचक बन्ने देखिन्छ।
काठमाडौँ छोडेर चितवन किन?
पछिल्लो एक महिनादेखि गौतम चुनाव लड्न चितवन जाने चर्चा सामाजिक सञ्जालमा व्यापक थियो। गौतमले यससम्बन्धी सयौँ प्रश्नको सामना गर्नुपरेको थियो, तर उनी आफैँ र पार्टी नेतृत्व यसबारे आइतबारसम्म मौन थिए।
२०७९ मंसिरमा भएको आम चुनावमा गौतमले काठमाडौँ–२ बाट १५ हजार २२९ मतसहित जित हासिल गरेकी थिइन्। उनले आफ्ना निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का मणिराम फुयाँललाई ३ हजार ६७४ मतान्तरले पराजित गरेकी थिइन्। गौतम यस पटक पनि सोही क्षेत्र दोहोर्याउन चाहन्थिन्, जहाँ उनको राम्रो पकड बनिसकेको थियो।
तर, रास्वपाको पछिल्लो निर्णयले गौतमलाई चितवन पठाएर काठमाडौँ–२ को मैदान पार्टीका सहमहामन्त्री विपीनकुमार आचार्यका लागि खाली गरिदिएको छ। समानुपातिक सूचीको खस–आर्य कोटाको पहिलो नम्बरमा रहेका दाङका आचार्यले प्रत्यक्ष चुनाव लड्ने संकल्पसहित नाम फिर्ता लिएपछि रास्वपाले उनलाई काठमाडौँ–२ मा व्यवस्थापन गरेको हो। यही आन्तरिक समीकरणले सबितालाई चितवनको नयाँ र चुनौतीपूर्ण भूगोलमा पुर्याएको छ।
दुवैमा जितको आत्मविश्वास
चितवन–३ मा अब सोबिताले भरतपुर महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर चुनावी मैदानमा उत्रिँदै गरेकी रेणुसँग कडा प्रतिस्पर्धा गर्नुपर्ने छ। अहिले नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट उम्मेदवार बनेकी दाहाल २०७४ र २०७९ का दुवै स्थानीय तह निर्वाचनबाट भरतपुरको मेयर बनेकी थिइन्।
दाहालसँग दुई कार्यकाल मेयर भएर भरतपुरको विकासमा गुणात्मक फड्को मारेको बलियो पृष्ठभूमि छ। उनीसँग पार्टी संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक विरासत र सांगठनिक संरचनाको साथ पनि छ। यद्यपि, उनले आफूलाई ‘प्रचण्डपुत्री’ भन्दा पनि ‘विकासको सारथि’को रूपमा स्थापित गर्ने प्रयास गर्दै आएकी छन्।
रेणुले आफूले चितवनबाट जित्नेमा कुनै दुबिधा नरहेको बताएकी छन्। “मैले दुई पटक मेयर भएर चितवनको विकासमा आफूलाई समर्पित गरेँ। अब मलाई चितवनसँगै सिंगो देशको विकासमा जुट्नु छ। चितवनका सचेत जनताले मेरो कामको मूल्यांकन पक्कै गर्नेछन्,” उनले भनिन्।
अर्कोतिर, रास्वपाकी प्रखर नेता गौतम छिन्। कानूनी पृष्ठभूमि र सांसद हुँदा सदनमा निभाएको तर्कपूर्ण भूमिकाका कारण उनी युवा पुस्ता र मध्यमवर्गीय मतदातामाझ निकै लोकप्रिय छिन्। काठमाडौँमा जन्मे-हुर्केकी सोबिताले हालै चितवनसँग गाँसेको वैवाहिक साइनोलाई कतिपयले चुनावी आधार मानेका छन्। तर उनी भने आफू नीति र अजेन्डामा अडिग भएको बताउँछिन्।
“काठमाडौँले मलाई विश्वास गर्यो, अब पार्टीको निर्णय शिरोधार्य गर्दै म चितवनको सेवा गर्न जाँदै छु। मलाई भरोसा छ, चितवनले पनि न्याय गर्नेछ। जहाँ नाताभन्दा पनि म र मेरो पार्टीको आगामी योजना तथा कामको मूल्यांकन हुनेछ,” गौतम भन्छिन्।
चितवनको राजनीतिमा हलचल
रास्वपाको यो निर्णयले पार्टीभित्रको शक्ति सञ्चालन र भावी रणनीतिलाई पनि प्रस्ट पारेको छ। पार्टीका एक केन्द्रीय सदस्यका अनुसार, सहमहामन्त्री विपीनलाई काठमाडौँमा उतार्नु र सोबितालाई चितवनमा रेणुविरुद्धमा उभ्याउनुलाई ठूला हस्तीहरूलाई गलाउने रणनीति हो। रास्वपाभित्र विपीन ‘ब्रेन’ अर्थात् रणनीतिकारका रूपमा चिनिन्छ भने सोबितालाई जनमत तान्न सक्ने अनुहारका रूपमा हेरिन्छ।
चितवनकी लेखक एवं अधिवक्ता सरिता तिवारी जनतामाझ प्रभावशाली रहेका दुई महिलाको प्रवेशले चितवनको राजनीतिमा हलचल ल्याएको बताउँछिन्। उनका अनुसार पछिल्लो माहौल र जनमतका संकेत हेर्दा यी दुई नेताबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ। रेणुले विकासमा योगदान पुर्याएको भए पनि उनले जितेपछि आफ्ना पितासँग मिलेर स्वार्थको द्वन्द्वमा लाग्न सक्ने आशंक केहीमा रहेको तिवारीको तर्क छ।
युवा जोस र कानूनी पृष्ठभूमि भएकी सोबिता नयाँ भएकाले निःस्वार्थ रूपमा काम गर्ने विश्वास कतिपय मतदातामा देखिएको उनले बताइन्। “मेरो व्यक्तिगत अनुमानमा यस पटक चितवनमा सोबिताले प्रभाव पार्न सक्ने सम्भावना बलियो देखिन्छ,” उनले भनिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
