प्रधानमन्त्री कप: कोशीलाई ३९ रनले हराउँदै गण्डकी विजयी

प्रधानमन्त्री कपमा गण्डकीले कोशीलाई ३९ रनले पराजित गरेको छ।

वीरगन्ज (पर्सा)— प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा गण्डकीले कोशी प्रदेशलाई ३९ रनले पराजित गरेको छ।

वीरगन्जको नारायणी रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको गण्डकी प्रदेशले निर्धारित ५० ओभरमा सात विकेट गुमाउँदै २२७ रन जोडेको थियो।

गण्डकीका तर्फबाट अर्जुन कुमालले १०२ रनको शतकीय पारी खेले भने विपिन खत्रीले ७६ रन जोडे। कोशी प्रदेशका तर्फबाट दीपेश कँडेलले चार विकेट र सुजन थपलियाले एक विकेट लिए।

२२८ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको कोशी ५० ओभरमा नौ विकेटको क्षतिमा १८८ रनमा सीमित भयो। कोशीका तर्फबाट दीपेश कँडेलले ५२ रन र आशिष मगरले ३० रन जोडे। गण्डकीका सिव्रिन श्रेष्ठले तीन विकेट र अपराजित पौडेलले दुई विकेट लिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका गण्डकीका अर्जुन कुमाल ‘म्यान अफ दी म्याच’ घोषित भए।

प्रतियोगितामा तीन विभागीय टोली—नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरीको एपीएफ क्लबसहित सात प्रदेशका गरी १० टोलीको सहभागिता छ। प्रतियोगिताको विजेताले १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्।