कालो चश्माभित्र चलेको शासन

राजनीतिमा खतरनाक चश्मा आँखामा लगाइने कालो चश्मा होइन। बरु त्यो चश्मा हो जसले नेताको वरिपरिको संसारलाई त्यही रूपमा देख्न दिँदैन, जसका कारण उसलाई आफ्नै समूहको प्रशंसा मात्र सत्य लाग्छ।

व्यक्तिका रोजाइ र रुचि एउटै हुनुपर्छ भन्ने छैन। व्यक्तिपिच्छे नै रुचि र रोजाइ भिन्न भिन्न हुन सक्छन्। जस्तो, पहिरन उसको निजी रोजाइ हुन सक्छ। स्वाभाविक रुपमा नै कसैलाई कालो रङको पोशाक मन पर्न सक्छ। त्यस्तै, कालो चश्मा मन पर्न सक्छ। अनि कसैलाई हरियो पोशाक वा हरियै चश्मा मन पर्ला भने कसैलाई रातो। त्यस्तै, कोहीलाई भीड मन पर्न सक्छ भने कोहीलाई चाहिँ एकान्त र सुनसान। एउटा के चाहिँ कुरा प्रष्ट हो भने यी कुरालाई मात्र आधार बनाएर कसैको मनोविज्ञान यस्तै च भनेर निष्कर्ष निकालिहाल्न सकिँदैन, मिल्दैन।

अर्को के कुरा पनि उत्तिकै सत्य हो भने जब कुनै व्यक्ति व्यक्तिगत जीवनमा सीमित हुँदैन, अझ भनौँ– ऊ देश चलाउने सरकार प्रमुखको भूमिकामा हुन्छ, उसका निजी व्यवहारहरू निजीमा सीमित रहँदैनन्। उसका ती कुरा सार्वजनिक नेतृत्वको शैलीसँग जोडिएर हेर्न थालिन्छन्त। अनि आम सर्वसाधारणले त्यसलाई सार्वजनिक चासोका रुपमा हेर्छन्। जस्तो, प्रधानमन्त्री बालेन्द्र शाहलाई हेर्ने गरिएको छ। उनको सार्वजनिक व्यक्तित्वलाई हेर्दा बारम्बार देखिने कालो चश्मा, कालो पोशाक, सीमित व्यक्तिसँगको सम्पर्क, सार्वजनिक संवादमा संकोच, आलोचनाप्रति असहिष्णु र सानो घेरामा केन्द्रित निर्णय प्रक्रियाजस्ता विषयले गम्भीर प्रश्न जन्माउँछन्– के यो केवल व्यक्तित्वको शैली मात्र हो? या कतै शासनको मनोविज्ञान पनि त्यही दिशातर्फ गइरहेको तछैन?

बालेन्द्र शाहको राजनीतिक उदयको सबैभन्दा ठूलो शक्ति नै परम्परागत राजनीतिक शैलीप्रति जनतामा व्याप्त असन्तुष्टि थियो। उनी स्थापित दलहरूको भाषण, परम्परागत राजनीतिक संस्कार र पुरानो नेतृत्वको विकल्पका रूपमा उदाए। तर राजनीतिमा एउटा विडम्बना हुन्छ। जुन असन्तुष्टिको लहरले मानिसलाई सत्तामा पुर्‍याउँछ, सत्तामा पुगेपछि जनतासँग संवाद गर्न छोडियो भने ढिलोचाँडो त्यो शक्ति कमजोर हुँदै जान्छ।

प्रधानमन्त्री बालेन्द्रको राजनीतिक छवि मूलतः पुरानो शैली तोड्ने नेताको रुपमा बनेको हो। त्यसैले जनताले उनीबाट अझ बढी पारदर्शिता, प्रत्यक्ष संवाद र उत्तरदायित्वको अपेक्षा गर्नु स्वाभाविक हो। यदि प्रधानमन्त्री जनताबाट टाढा, पत्रकारका प्रश्नबाट असहज, आलोचकसँग संवाद गर्न अनिच्छुक र सीमित समूहमा मात्र निर्भर देखिन थाले भने प्रश्न उठ्छ– के परिवर्तनको प्रतीक बनेको नेतृत्व स्वयं एउटा नयाँ बन्द घेरा निर्माण गर्दै छ?

कालो चश्मा: शैली कि प्रतीक

चर्को प्रकाश, अझ भनौँ चर्को घामको प्रकाशबाट आँखालाई जोगाउन धेरैजसोले कालो चश्मा लगाउने गर्छन्। किनभने कालो चश्माले चर्को प्रकाशबाट आँखालाई ढाक्छ। प्रायः कालो चश्मामै देखिने (संसद् बैठकदेखि संयुक्त राष्ट्रसंघका महासभामा समेत) प्रधानमन्त्री बालेन्द्रको हकमा यसलाई कुनै मनोवैज्ञानिक प्रमाण मान्न नमिल्ला। तर राजनीतिक प्रतीकका रूपमा यसको अर्थ खोज्न भने सकिन्छ।

नेताको आँखाले जहिल्यै राज्यको वास्तविकता हेर्नु र बुझ्नु पर्छ। त्यस्तो प्रयास गर्नुपर्छ। उसले सडकमा उभिएको नागरिक, बेरोजगार युवा, पीडित परिवार, कर्मचारीको समस्या, व्यवसायीको गुनासो, किसानको दुःख र विपक्षीको आलोचना पनि देख्नुपर्छ। त्यसैले प्रश्न चश्माको मात्र होइन। प्रश्न हो– प्रधानमन्त्रीले आफ्नो अगाडि आउने असहमतिलाई देखिरहेका छन् कि आफ्नै विश्वासको संसारमा मात्र रमाइरहेका छन्?

यदि चश्मा केवल आँखामा छ भने त्यो फेसन हो। तर यदि सत्ता वरिपरि पनि अदृश्य चश्मा लाग्यो भने समस्या शुरु हुन्छ। त्यसबाट सरकार प्रमुखसम्म पुग्ने सूचनामा फिल्टर लाग्छ। त्यसकारण सरकारसम्म वा सरकार प्रमुखसम्म आलोचना रोकिएर प्रशंसा मात्र पुग्छ र जनताको वास्तविकता सानो समूहको व्याख्याबाट मात्र बुझिन्छ।

एकान्तप्रियता : शक्ति कि कमजोरी

प्रधानमन्त्री बालेन्द्रको व्यक्तित्वमा एक प्रकारको दूरी र आत्मनिर्भरता देखिन्छ। यो उनको राजनीतिक आकर्षणको एउटा हिस्सा पनि हुन सक्छ। उनी भीडमा घुलमिल हुने परम्परागत नेताजस्तो देखिन चाहँदैनन्। तर प्रधानमन्त्रीका लागि अत्यधिक दूरी कहिलेकाहीँ कमजोरी बन्न सक्छ। एकान्तमा बसेर निर्णय गर्नु र एकान्तमा बसेर शासन गर्नु फरक कुरा हो। पहिलो अवस्था अनुसार व्यक्ति सोच्नका लागि आफूलाई समय दिन्छ। दोस्रो अवस्थामा उसले समाजबाट आफूलाई अलग गर्छ।

सरकार प्रमुखले नक्कली होइन, असली विज्ञहरुसँग विमर्श र बहस गर्नुपर्छ। विपक्षीसँग संवाद गर्नुपर्छ। पत्रकारको प्रश्न सुन्नुपर्छ। आफ्नै निर्णयको आलोचना सुन्नुपर्छ। प्रशासनभित्रको असहमति पनि सुन्नुपर्छ। किनभने गल्ती नगर्ने नेता हुँदैन, गल्ती थाहा पाउन नसक्ने नेता खतरनाक हुन्छ।

सानो घेरा

सत्तामा पुगेपछि नेताको वरिपरि एउटा विशेष प्रकारको कोटरी अर्थात् समूह बन्ने गर्छ। उनीहरू नेता नजिक हुन्छन्, नेताको भाषा बुझ्छन् र प्रायः नेताको निर्णयलाई समर्थन गर्छन्। प्रधानमन्त्री बालेन्द्रको हकमा पनि प्रश्न यही हो। उनले आफूसँग असहमत हुने मानिसलाई कति नजिक राखेका छन्? या छैनन्? यदि प्रधानमन्त्रीको वरिपरि हरेक कुरामा सहमति जनाउने मित्रण्डली मात्र छ भने प्रधानमन्त्रीले देशको वास्तविकता होइन, आफ्नै विचारको प्रतिध्वनि सुन्न थालेका छ्न्।

लोकतन्त्रमा सबैभन्दा उपयोगी व्यक्ति त्यो होइन जसले प्रधानमन्त्रीलाई हरेक पटक सही वा प्रिय कुरा मात्र भन्छ। सबैभन्दा उपयोगी व्यक्ति त्यो हो जसले प्रधानमन्त्रीलाई आवश्यक पर्दा निर्णय गलत छ भन्न सक्छ। त्यस्तो आवाज सुन्न सक्ने क्षमता नै राजनीतिक परिपक्वता हो।

आलोचना सुन्न नसक्ने सत्ता

वर्तमान प्रधानमन्त्री बालेन्द्रको राजनीतिक यात्राको अर्को रोचक पक्ष के भने उनी स्वयं नै पुरानो राजनीतिक नेतृत्वको चर्को आलोचक बनेर राजनीतिमा उदाएका हुन्। तर कुनै पनि राजनीतिक परिवर्तन भएपछि एउटा कठिन परीक्षा आउँछ। जब हिजो अरूलाई गरेको आलोचना आफूप्रति लक्ष्यित हुन थाल्छ, त्यसलाई सहन वा सुन्न सक्ने कि नसक्ने? हिजो नेताहरूलाई प्रश्न गर्ने व्यक्ति आज स्वयं प्रश्नको केन्द्रमा आउँदा दुईमध्ये एउटा बाटो त रोज्नैपर्छ।

पहिलो, मलाई प्रश्न गर्ने अधिकार जनतालाई छ।

दोस्रो, मलाई प्रश्न गर्नेहरू जनता नभएर सबै मेरो विरोधी हुन्।

पहिलो बाटो लोकतन्त्रको बाटो हो। दोस्रो बाटो चाहिँ व्यक्तिकेन्द्रित सत्ताको बाटो। 

म सही छु भन्ने मनोविज्ञान सत्तामा नहुनेहरुमा पनि हुनसक्छ। तर सत्तामा पुगेपछि त्यो म नै सही छु भन्ने मनोविज्ञानमा रुपान्तरण हुन्छ। खासमा यो सत्ताको बाटो हिँडेपछि देखिने नतिजा हो। यसमा नेताले शुरुमा मलाई जे लाग्छ, त्यही सही हो भन्न थाल्छ। अनि केही समयपछि वरिपरिका मानिसले लगातार त्यसलाई नै समर्थन गरेपछि उसलाई लाग्छ– यो नै सत्य हो। अन्ततः त्यो अझ डरलाग्दो अवस्थामा पुग्न सक्छ। त्यो के भने ‘म सही छु, त्यसैले मेरो विरोध गर्नेहरू गलत छन्’ भन्ने निक्र्योल।

यहीँबाट असहमति शत्रुतामा बदलिन थाल्छ।

लोकतान्त्रिक शासन व्यवस्थामा जनताको असहमति लोकतन्त्रको सुरक्षा कवच हो। बालेन्द्र शाह जस्ता नयाँ राजनीतिक शक्तिका रुपमा उदाएका अनुहारबाट जनताले अझ बढी सहिष्णुता र संवादको अपेक्षा गर्नुको कारण पनि यही हो। पुरानो राजनीतिक संस्कार तोड्ने दाबी गर्ने नेतृत्वले पुरानै प्रकारको शासन दोहोर्‍यायो भने परिवर्तनको अर्थ के रह्यो?

सरकार प्रमुखको मनोविज्ञान होइन, संस्थामाथि प्रश्न

हामीले प्रधानमन्त्री बालेन्द्रको व्यक्तित्वमाथि मात्र बहस गर्नु हुँदैन। वास्तविक प्रश्न त संस्थाप्रति हो। यदि प्रधानमन्त्री कम बोल्छन् भने संसद्ले प्रश्न गर्नुपर्छ। यदि प्रधानमन्त्री पत्रकारसँग कम संवाद गर्छन् भने स्वतन्त्र सञ्चारमाध्यमले निरन्तर प्रश्न गर्नुपर्छ। यदि निर्णय सीमित घेरा वा कोटरीबाट आउँछन् भने मन्त्रिपरिषद्, संसद्, प्रशासन र विज्ञ संस्थाहरूले संस्थागत समीक्षा गर्नुपर्छ।

यदि प्रधानमन्त्री आलोचनाबाट टाढा रहन्छन् वा रहन खोज्छन् भने लोकतान्त्रिक संस्थाहरूले आलोचना गर्नु पर्छ। किनकि लोकतन्त्र कुनै एक व्यक्तिको चरित्रमा निर्भर हुने व्यवस्था होइन। लोकतन्त्र त्यस्तो व्यवस्था हो जहाँ राम्रो व्यक्ति आए पनि संस्था बलियो रहन्छ र खराब व्यक्ति आए पनि संस्थाले नै उसलाई नियन्त्रण गर्ने क्षमता राख्छ।

त्यसकारण प्रधानमन्त्री बालेन्द्रको अगाडि सबैभन्दा ठूलो चुनौती अब पुराना नेताहरूलाई पराजित गर्नु मात्र होइन।सबैभन्दा ठूलो चुनौती हो आफूलाई फरक साबित गर्नु। उनी पुरानो राजनीतिक संस्कारको विकल्प बनेर आएका हुन् भने उनको शासन पनि पुरानै शैलीको बन्द घेरा, आदेशमुखी व्यवहार र आलोचनात्मक दूरीमा परिणत हुनुहुँदैन।

जनताले बालेनबाट केवल विकास चाहेका छैनन्। उनीहरूले नयाँ राजनीतिक संस्कार खोजेका छन्। त्यो संस्कारको पहिलो आधार हो संवाद, पारदर्शिता, उत्तरदायित्व,असहमति–आलोचनाको सम्मान र आफू गलत हुन सक्ने सम्भावनालाई स्वीकार गर्ने उदारता।

कालो चश्मा लगाएर प्रधानमन्त्री बालेन्द्र शाहले देश हेर्छन् कि हेर्दैनन् भन्ने कुरा चश्माले बताउँदैन। त्यस्तै, कालो पोशाकले उनको मनोविज्ञान बताउँदैन।एकान्तप्रियताले उनी असामाजिक होलान् भन्ने प्रमाण पनि दिँदैन। तर सरकार प्रमुखको रूपमा उनले कसलाई भेट्छन्, कसका कुरा सुन्छन्, कसका आलोचना स्वीकार गर्छन्, निर्णय लिनुअघि कति फरक विचार लिन्छन्–सुन्छन् र जनताप्रति कति उत्तरदायी बन्छन् भन्ने कुराले उनको नेतृत्वको वास्तविक चरित्र अवश्य देखाउँछन्।

राजनीतिमा सबैभन्दा खतरनाक चश्मा आँखामा लगाइने कालो चश्मा होइन। सबैभन्दा डरलाग्दो चश्मा त्यो हो जसले नेताको वरिपरिको संसारलाई त्यही रूपमा देख्न दिँदैन, जसका कारण नेतालाई आफ्नै समूहको प्रशंसा मात्र सत्य लाग्छ।

बालेन्द्र शाहका लागि पनि आजको मूल प्रश्न यही हो। उनी पुरानो राजनीतिको विकल्प बनेर सत्तामा आएका हुन् कि पुरानो राजनीतिको ठाउँमा नयाँ प्रकारको एकान्तप्रिय सत्ता निर्माण गर्न? इतिहासले यसको उत्तर पोशाक, चश्मा वा भाषणमा दिनेछैन।

लोकतन्त्रमा ठूलो नेता त्यो होइन जसको अगाडि सबै चुप लाग्छन्। ठूलो नेता त्यो हो, जसको अगाडि असहमति राख्ने मानिस पनि निर्धक्क भएर उभिन सक्छन्। के अहिले त्यो वातावरण छ त?