मुलुक सङ्घीयतामा प्रवेश गरेको दश वर्ष बिती सक्दा पनि साढे पाँच हजार वर्षको इतिहास बोकेको मानिने मिथिलाले न राज्यको नाम पाउन सकेको छ, न त मैथिली भाषाले नै मान्यता पाएको छ।
मिथिला राज्यको स्थापना लगभग साढे पाँच हजार वर्ष पूर्व मिथि नामका गणपतिले गरेका थिए भन्ने मानिन्छ। ऋषि वशिष्ठको श्रापबाट देहरहित (विदेह) बन्न पुगेका निमिलाई पुर्नजिवीत गर्न ऋषिमुनिहरू एनको मृत्यु शरीरलाई मन्थन गरेका थिए भन्ने कथा छ। मन्थन क्रियाबाट एउटा दिव्य बालक अवतरित भए। मन्थन क्रियाबाट उत्पन्न भएकाले उनलाई ‘मिथि’ तथा आफै उत्पन्न भएकाले ‘जनक’ नामले सम्बोधन गरियो। यिनै जनकले जनकपुरलाई राजधानी बनाएर मिथिला राज्य सञ्चालन गरेको बृहत् विष्णु पुराणमा उल्लेख छ। मिथिलाका राजाहरूलाई जनक भनिन्थ्यो। सीताका पिता शीरध्वज जनक २३ औं पुस्ताका राजा मानिन्छन्।
महाभारतकालसम्म स्वतन्त्र अस्तित्वमा रहेको भनिने विदेह गणराज्य (मथिला), ईसा पूर्व छैठो शताब्दीको पूर्वार्ध (लगभग ई.पू. ५२५) मा वैशाली र मगध साम्राज्यमा समाहित भएको ऐतिहासिक दस्ताबेजहरूले देखाउँछ। कर्णाट काल (सन् १०९७–१३२५) मा तिरहुत राज्यको नामले प्रख्यात थियो। मैथिली भाषा, साहित्य, कला, संस्कृतिसँगै आर्थिक रूपले समुन्नतिको शिखरमा पुगेको यस काललाई मिथिलाको स्वर्ण काल पनि भनिन्छ।
यस कालमा भारोपेली भाषा समूहको पहिलो गद्य ग्रन्थ वर्ण रत्नाकर (शब्द कोष) र ध्रुत समागम (नाटक) जस्ता उत्कृष्ट ग्रन्थहरूको रचना भएको थियो। मकवानपुरे राजा लोहाङ सेनले महोत्तरीका राजा मोहन ठाकुरलाई पराजित गरेपछि मिथिला मकवानपुर राज्य अन्तर्गत तथा सन् १७६२ मा गोरखाका राजा पृथ्वीनारायण शाहले मकवानपुरमाथि कब्जा गरेपछि, मिथिला नेपालमा समाहित भएको हो। सन् १८१६ मार्च ४ मा इस्ट इन्डिया कम्पनीसँग भएको सुगौली सन्धि पश्चात् मिथिला नेपाल र भारतमा विभाजित भयो।
यस प्रकार झन्डै साढे पाँच हजार वर्षयता कोसी, गण्डकी, चुरे पर्वत शृङ्खला तथा गंगा नदीको बीचको भूखण्डमा अवस्थित तीरभुक्ति वा तिरहुत राज्य भूगोल मात्र नभई आफ्नो मौलिक धार्मिक, सांस्कृतिक, आर्थिक तथा प्राज्ञिक ज्ञान परम्परामा रमाउँदै आएको सभ्यता हो। यहाँका राजा शीरध्वज जनकले कृषि कर्मलाई प्रतिष्ठा दिलाउन स्वयं हलो जोतेका थिए भन्ने कथन छ। प्राज्ञिक विमर्श (शास्त्रार्थ) परम्परालाई राजदरबारसम्म पुर्याएको भन्दै उनको आदर गरिन्छ।
पछि पृथ्वीनारायण शाहले राज्य सञ्चालनको लागि अवलम्बन गरेको ‘एउटै राजा, एउटै देश, एउटै भाषा, एउटै भेष’ को नीति पश्चात् मिथिला सभ्यता ओझेलमा पर्दै गएको छ। विडम्बना नै भन्नु पर्ला– मुलुक सङ्घीयतामा प्रवेश गरेको दश वर्ष बिती सक्दा पनि साढे पाँच हजार वर्षको इतिहास बोकेको मानिने मिथिलाले न राज्यको नाम पाउन सकेको छ, न त मैथिली भाषाले नै मान्यता पाएको छ।
गुमाएको गौरव गाथा बयान गर्न, मैथिली विकास कोष, जनकपुरधाम दुई–दुई वर्षको फरकमा ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव’ आयोजन गर्दै आएको छ। महोत्सवको पाँचौँ श्रृंखला फागुन ५ गते सुरु भई ८ गते सम्पन्न भएको छ। महोत्सवमा भाषा, साहित्य, कला, संस्कृतिसँगै जेनजी आन्दोलन, जलसंकट, महिला र सीमान्त सशक्तीकरण आदि विषयमा गम्भीर बहस र छलफल भएका थिए। अन्तिम दिन (शुक्रवार) साहित्यकार राजेन्द्रप्रसाद विमल र समाजशास्त्रका विश्लेषक आहुतीको एकल अभिभाषणले मिथिला सभ्यताबारे गहकिला तथ्यहरू प्रकाशमा आए। यस पुरातन सभ्यतामाथि नेपाली राज्यसत्ताले गरेको थिचोमिचो तथा मिथिला सभ्यता पुनर्स्थापनाका मार्गचित्रबारे छलफल भएका थिए।
साहित्यकार विमलले केन्याका पहिचानवादी चिन्तक नौगी वा थियोंगोलाई उद्धृत गर्दै भनेका थिए, ‘मिथिला सभ्यता पुनः प्राप्ति गर्न यसको खोजी गर्नु पर्छ। गुमाएको गौरवमाथि शोक मनाउनु पर्दछ अनि पुनः प्राप्तिको लागी प्रतिबद्धतासाथ अघि बढ्नु पर्दछ।’ कोषद्वारा आयोजित यस महोत्सवबाट मिथिला सभ्यता पुनर्स्थापनाको दिशामा सकारात्मक भूमिका खेलेको उहाँको विश्लेषण थियो।
विमलका अनुसार, भौगोलिक भन्दा मानसिक औपनिवेशिकरण बढी खतरनाक हुन्छ। मानसिक उपनिवेशमा परेकाहरू आफ्नो स्वर्णिम इतिहासको स्वामित्व लिन चाहँदैनन्। आफ्नो भाषा, साहित्य, कला, संस्कृति, खानपान, पोसाक र जीवनशैलीमाथि गर्व गर्दैनन्। शासकको जीवनशैलीमा रमाउन खोज्छन्।
विश्लेषक आहूतीले काठमाडौँ उपत्यकालाई भाषा, साहित्य, संस्कृतिसँगै लुगा रङ्गाउने र धुने कला, मूर्तिकला, मिठाई र दही बनाउने सिप मिथिला सभ्यताले नै सिकाएको उद्घोष गरेका थिए। सुगौली सन्धि पूर्वको एउटा प्रसंग उद्धृत गर्दै उनले भने, ‘‘नेपालको भौगोलिक अखण्डता रक्षामा पनि मिथिला, भोजपूरा र अवधि भाषी (नेपाल तराई) को ठुलो योगदान छ। इस्ट इन्डियाका शासकहरूलाई यहाँका मूल निवासीहरूले नेपालमै बस्छु भनेकाको कारणले यो भूभाग आज नेपालमा हुने थिएन। भारतमा हुन्थे।’’
सुगौली सन्धिको बेला इस्ट इन्डिया कम्पनीले चुरे तलका तराई आफ्नो मातहत राख्न खोजेका थिए, तर नेपालका राजा राजस्वको मुख्य स्रोत तराई छाड्ने पक्षमा थिएनन्। त्यसताक अंग्रेज शासकले मिथिला, भोजपुरा र अवध क्षेत्रका सामन्तहरूलाई बोलाएर छलफल गरेका थिए। सामन्तहरूले आफू नेपालमै बस्न चाहेको भनेपछि यो भूभाग नेपालमा रहने गरी सुगौली सन्धि गरिएको तथ्य आहुतीले ऐतिहासिक साक्ष्यको आधारमा भने।
सिम्रोन गढका कर्णाट वंशले सञ्चालन गरेको तिरहुत राज्य र पछि मकवानपुरमा सेन राजवंशले सञ्चालन गरेको मकवानपुर राज्यमा मैथिली भाषा साहित्यसँगै सरकारी कामकाजको भाषा पनि थियो। मैथिलीमा लेखिएका त्यति बेलाका शिलालेख, दानपत्र, प्रतीतपत्र आदिबाट यो तथ्य प्रमाणित हुन्छ। कर्णाटकालमा ज्योतिरीश्वरद्वारा लिखित वर्णरत्नाकर (शब्दकोश) र ध्रुत समागम (नाटक) भारोपेली भाषा समूहको पहिलो गद्य ग्रन्थ मानिन्छ।
सेनकालमा उमापतिद्वारा लिखित ‘पारिजात हरण’ (नाटक) ले मैथिली साहित्यको पौराणिकता प्रमाणित गर्छ। हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीको विवाह गोर्खाका राजकुमार पृथ्वीनारायण शाहसँग भएको थियो। बेहुला र बेहुली फरक–फरक सांस्कृतिक समुदायका भएकाले दुवैको दाम्पत्य जीवन सफल हुन सकेन। खस–आर्य समुदायमा विहेलगत्तै बेहुली अन्माउने चलन हुन्छ, तर मिथिलाको ब्राह्मण, कायस्थ आदि जातिमा बिहे भएको एक वर्षसम्म बेहुलीको माइतीमा विभिन्न विधि विधान गर्ने चलन भएकोले द्विरागमन (गौना) पछि मात्र छोरी बिदा गर्ने चलन छ।
पृथ्वीनारायण शाहको मकवानपुर विजय पछि मिथिलाञ्चलमा भौगोलिक र मानसिक उपनिवेशीकरण सुरु भएको इतिहासकार बाबुराम आचार्य, ‘श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी’मा उल्लेख गरेका छन्। उनले लेखेका छन्,‘पृथ्वीनारायण शाहले ब्रिटिस इस्ट इन्डिया कम्पनीद्वारा हस्तान्तरित मकवानपुर राज्य अन्तर्गतको तराई प्रदेशमा यसअघि पञ्चायतबाट मुद्दा छिन्ने प्रथा विद्यमान थियो। यी पञ्चायतहरू सामाजिक सहमतिमा स्वयं गठन भएका भए पनि शासकहरूले यिनलाई मान्यता दिएको अवस्था थियो। ब्रिटिस इस्ट इन्डिया कम्पनी सरकारका कप्तान किनलकको शासनकाल (सन् १७६७–७०) मा पनि कम्पनी सरकारले यहाँ आफ्नो अदालत स्थापित गर्न सकेको थिएन। तर यस क्षेत्रमा पृथ्वीनारायण शाहको शासन स्थापना भएलगत्तै आफ्नो प्रभावलाई दरिलो बनाउने उद्देश्यले फरक प्रकारको अदालत स्थापना गरे। यस अदालतमा मधिसे र पहाडे समुदायका लागी फरक फरक दण्ड विधान थियो। यसरी सामाजिक रूपमा विभेद भोग्दै आएका मधिसे समुदाय प्रशासनिक र कानूनी रूपले पनि विभेदमा परे।’
– (स्रोत : श्री ५ महाराजाधिराज पृथ्वीनारायण शाहको संक्षिप्त जीवनी पृष्ठ ४५१–५५२)
सन् १७०० को पूर्वार्द्धमा जनकपुर आएका जानकी मन्दिरका आदि महन्त सूरकिशोर दास र राम मन्दिरका आदि महन्त चतुर्भुज गिरीलाई आधुनिक जनकपुरको खोजीकर्ता मानिन्छ। सन् १७०७ मा मकवानपुरका राजा इन्दुविधाता सेनले राम जानकी मन्दिरका महन्त चतुर्भुज गिरीलाई १४०० बिघा जग्गा 'कुश बिर्ता' दिएपछि आधुनिक जनकपुरको आधारशिला खडा भएको थियो। पछि पृथ्वीनारायण शाहले चलाएको एकतन्त्री राज्य प्रणालीको कारण मिथिला, भोजपुरा, अवध, कोच, थारु, किरात, मगरात, नेवार आदि रैथाने भाषा र संस्कृति ओझेलमा पर्यो। त्यति बेलैदेखि मानसिक उपनिवेश सुरु भयो।
मैथिली विकास कोषको आयोजनमा सम्पन्न चार दिवसीय ‘जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवको पाँचौँ शृङ्खलाको २० वटा सत्रमा जेनजी आन्दोलनदेखि वैदेशिक रोजगारीको पीडा र खुसी जस्ता गम्भीर विषयमा बहस र छलफल भएका थिए। तीमध्ये साहित्यकार डा. राजेन्द्र प्रसाद विमल, भाषा वैज्ञानिक प्रा.डा. रामावतार यादव, सामाजिक विश्लेषक आहुती, राजनीतिक तथा साहित्य विश्लेषक डा. सञ्जीव उप्रेतीको एकल अभिभाषण महोत्सवमा चर्चाको विषय बनेको थियो। मुलुक संघीय संरचनामा गएको एक दशक भए पनि आदिवासी–जनजाति, मधेसी, मुसलमान आदि सांस्कृतिक समुदायहरूले आफ्नो पहिचान पाउन नसक्नु दुःखद रहेको डा.उप्रेतीको कथन थियो।
मिथिला भूगोल मात्र नभई समृद्ध सभ्यता पनि हो, जहाँ विभिन्न जातीय, सांस्कृतिक, भाषिक तथा धार्मिक समुदायका मानिसहरू मिलेर बस्दै आएका छन्। उद्घाटन पूर्व प्रदर्शन गरिएको सांस्कृतिक शोभायात्राले महोत्सवलाई अझ आकर्षक बनाएको थियो। शोभा यात्रामा मिथिलामा विद्यमान बहुभाषिक, बहुसांस्कृतिक, बहु धार्मिक सह–अस्तित्वलाई साकार बनाएको थियो। यसमा विभिन्न जातीय, सांस्कृतिक तथा धार्मिक समुदायका महिला पुरुष आफ्नो मौलिक पोसाकमा झाँकीसहित सहभागी भएका थिए।


जनकपुरधाम साहित्य, कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सवको उद्घाटन गर्दै मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव र शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी लगायत ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
