प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक पारित

प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ।

काठमाडौँ– प्रतिनिधिसभाबाट राष्ट्र ऋण उठाउने विधेयक, २०८३ पारित भएको छ। सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको ‘विधेयकलाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिबाट पारित भएको हो।

विधेयकमाथिको दफावार छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले ऋण लिएर उत्पादनमूलक आयोजनामा खर्च गरिने बताए। “विदेशी ऋण पूर्वाधार आयोजनाका लागि तोकिएर आउँछन्, ती आयोजनाले अर्थतन्त्रका गतिविधिलाई चुस्त बनाउने, दूरी छोट्याउने र लागत घटाउने काम गरेका हुन्छन्”, उनले भने, “तर, ऋण लिएर निर्माण गरिएका दुई वटा अन्तर्राष्ट्रिय विमानस्थलको अवस्थाले फरक परिदृश्य देखाएको छ, हामीले निगरानी गर्नै पर्छ।”

त्यसअघि बैठकमा सभामुख डोलप्रसाद अर्यालले विधेयकमाथि प्राप्त संशोधनलाई निर्णयार्थ प्रस्तुत गरे। सांसद परशुराम तामाङ र रेखाकुमारी यादवले राखेका संशोधन प्रस्ताव बैठकले अस्वीकृत गर्‍यो भने सांसद हरिप्रसाद भुसालले आफ्नो संशोधन फिर्ता लिए।

त्यस्तै, प्रतिनिधिसभाबाट आर्थिक विधेयक, २०८३ पनि पारित भएको छ। सभाको आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले राखेको सो विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव बहुमतबाट पारित भएको हो।

सांसदहरू हरिप्रसाद भुसाल र सुशील खड्काले सो विधेयकमाथि राखेका संशोधन फिर्ता लिएका छन्। सांसदहरू गङ्गालक्ष्मी अवाल, डा. पुष्पराज कँडेल, हर्कराज राई, पार्वती विक र नरेन्द्रकुमार केरुङले उक्त विधेयकमाथि राखेका संशोधन बहुमतले अस्वीकृत गरेको थियो।