त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्य बिमा कार्यक्रम पुनः सञ्चालन

माघदेखि बन्द गरिएको त्रिवि शिक्षण अस्पतालको स्वास्थ्य बीमा कार्यक्रम असार १५ गतेदेखि पुनः सञ्चालनमा आउने भएको छ।

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालले स्वास्थ्य बिमा कार्यक्रमलाई पुनः सञ्चालन गर्ने भएको छ। गत माघ १ गतेदेखि सो कार्यक्रम बन्द गरेको अस्पतालले यही असार १५ गतेदेखि पुनः सेवा सुरु गर्न लागेको हो।

अस्पतालका कार्यकारी निर्देशक डा. सुवासप्रसाद आचार्यका अनुसार हाल बहिरङ्ग सेवा (ओपिडी) मा सो सेवा सञ्चालन गरिने र केही दिनपछि अन्य सेवामा पनि विस्तार गरिनेछ। स्वास्थ्य बिमा कार्यक्रममार्फत अस्पतालले उपलब्ध गराएको उपचारको भुक्तानी नभएपछि सेवा बन्द भएको थियो। 

उनका अनुसार अस्पतालले बिहान ७:०० देखि ११:०० बजेसम्म र दिउँसो १:०० देखि २:३० बजेसम्म बिरामीलाई बिमा टिकट उपलब्ध गराउनेछ। केही दिनअघि मात्र बिमा बोर्डले अस्पताललाई स्वास्थ्य बिमाबापतको भुक्तानी उपलब्ध गराएको छ।

अस्पतालले विसं २०७७ देखि नियमित रूपमा स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत सर्वसाधारणलाई उपचार सेवा उपलब्ध गराउँदै आएको थियो।