बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकास्थित राघुमाता माविको नयाँ भवन बनाउने जिम्मा लिएका ठेकेदारको लापरबाहीले नयाँ भवन टाढाको कुरा, भएकै पुरानो भवन पनि भत्किएपछि करिब ५०० विद्यार्थीको बिजोग भएको छ।
बाजुरा– गत मंसिर १० गते बुधबार बिहान १०ः२१ बजेको समय। बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–२ स्थित राघुमाता माध्यमिक विद्यालयको प्रांगणको एक कुनामा कक्षा ५ का १० जना विद्यार्थी विज्ञान विषय पढ्दै थिए।
ठिहिर्याउने हिउँदे जाडो, तर विद्यालय भवन भत्केर भताभुंग छ। विद्यार्थी विद्यालय प्रांगणकै एक कुनामा पढ्न बाध्य थिए। तिनैमध्ये ११ वर्षीय सुजन भण्डारीले गत जेठ महिनायता यसरी नै आँगनमा बसेर पढिरहेको बताए। “हाम्रो कक्षाकोठामा त ढुंगा र माटो थुप्रिएको छ, भित्र त कसरी पढ्नू,” उनले सुनाए।
यो विद्यालयका अधिकांश कक्षाकोठामा ढुंगा र माटो छरपस्ट भएर यसरी ओइरिएको छ, मानौँ यहाँ भर्खरै सुख्खा पहिरो गएको हो।
तर खासमा यहाँ पहिरो गएर यस्तो भएको होइन। बरु विद्यालय भवन बनाउने जिम्मा लिएका ठेकेदारको लापरबाहीका कारण विद्यालयका अधिकांश कोठा भत्किएका छन्। यहीकारण विद्यार्थीको बिचल्ली भएको प्रधानाध्यापक शंकर भण्डारी बताउँछन्।

यो २०१९ सालमा बनेको विद्यालय भवन हो। गत वर्ष स्वामीकार्तिक खापर गाउँपालिकाले नयाँ विद्यालय भवन बनाउन बजेट विनियोजन गर्दै ३ करोड ७० लाख रुपैयाँको टेन्डर आह्वान गरेको थियो। जसअन्तर्गत निर्माण कम्पनी, जनकल्याण निर्माण सेवाले १ करोड ९३ लाखको बोलपत्र पेस गरेर टेन्डर हात पारेको थियो। २०८३ असार १८ गतेसम्म १६ कोठे नयाँ विद्यालय भवन (८ कोठा तल र ८ कोठा माथि) निर्माण गरिसक्ने सम्झौतासहित कम्पनीले गत वैशाख १७ गते सम्झौता गरेर तत्काल काम शुरू गरेको थियो।
त्यही क्रममा गत जेठमा भवन बनाउने क्रममा गारो लगाउँदा विद्यालयको पुरानो भवनमा माथिबाट ढुंगा र माटो ओइरियो। त्यसबाट कक्षाकोठा, पुस्तकालय, विज्ञान प्रयोगशाला र कम्प्युटर ल्याब ध्वस्त भए।
विद्यालयमा नेपाली विषय पढाउने शिक्षक केशव भण्डारीका अनुसार त्यसपछि त पानी, ढुंगा र माटोले विद्यालयका कक्षाकोठा नै भरिभराउ भए। “त्यसबेला हाम्रो काम नै विद्यालय आउने र ढुंगा बाहिर ओसार्ने भएको थियो,” उनले सुनाए।
प्रधानाध्यापक शंकर भण्डारी यो सरासर ठेकेदारको लापरबाही भएको बताउँछन्। नयाँ भवन बनाउँदा ठेकेदारले पुरानो भवनमा पढ्ने विद्यार्थीको सुरक्षालाई ध्यानमा राखेर आवश्यक सुरक्षा प्रबन्ध मिलाउने र नेटवालको प्रयोग गर्नुपर्नेमा त्यसो नगरेको उनको भनाइ छ।
विद्यार्थीको पठनपाठनदेखि सबै कुरा प्रभावित बनेपछि विद्यालयले निर्माण व्यवसायी धर्म शाहीलाई संवेदनशील भएर काम गर्न पटक–पटक आग्रह गर्यो। तर उनले कुनै चासो नै नदेखाएको र ‘नयाँ भवन बनाउँदा अलिकति दुःख त भइहाल्छ नि’ भनेर गैरजिम्मेवार जवाफ दिएको प्रधानाध्यापक भण्डारी बताउँछन्।
५०० विद्यार्थीको भविष्यमाथि खेलबाड
राघुमाता माध्यमिक विद्यालयमा ५०० विद्यार्थी पढ्छन्। विद्यालयको नयाँ भवन बनाउने नाममा पुरानो भवन नै जोखिममा पारिँदा यहाँ अध्ययनरत विद्यार्थीहरूको भौतिक सुरक्षा, पढाइ र भविष्य नै जोखिममा परेको छ। विद्यालयमा विज्ञान विषय पढाउने शिक्षक भूपाल थापाका अनुसार अहिले विज्ञान र कम्प्युटर जस्ता प्रयोगात्मक विषय पनि चौरमा राखेर सैद्धान्तिक तरिकाले मात्र पढाउनुपरेको छ।

कक्षा ९ को ‘बी सेक्सन’ मा रहेका झ्यालका गहिरा खापाले यसको तस्वीर देखाउँछन् जहाँ गत जेठ महिनादेखि कम्प्युटरका सीपीयू तखता बनाएर ह्वाइटबोर्ड र रातो कपडाले छोपेर राखिएको छ। “के गर्नु, राख्ने कक्षाकोठा नै छैनन्,” प्रधानाध्यापक भण्डारीले कम्प्युटर देखाउँदै भने, “यी सबै चल्छन्, तर विद्यार्थीले चलाउन पाएका छैनन्।”
भवन भत्किएर विद्यार्थीलाई कक्षाकोठा अपुग भएपछि एउटै कोठालाई टिनले बारेर एकातिर कक्षा ८ र अर्कोतिर कक्षा ९ का विद्यार्थीलाई भुइँमा बसेर पढ्ने व्यवस्था मिलाइएको छ। कक्षा १० मा अध्ययनरत १५ वर्षीय योगेश बुढा कम्प्युटर चलाउन नपाएको ६ महिना भन्दा धेरै भइसकेको गुनासो गर्छन्।

बाजुरा यसै पनि भौगोलिक रूपमा बिकट ठाउँ हो। त्यसमा पनि स्वामीकार्तिक खापर गाउँपालिका झन् बिकटमा पर्छ। कैयौँ विद्यार्थी दुई तीन घण्टा हिँडेर विद्यालय आउँछन्। जस्तो, कक्षा ९ मा अध्ययनरत १५ वर्षीया रामसिता विटालु बिहान १० बजेको कक्षा भेट्न ८ बजे नै घेजाड गाउँबाट हिँडेर आउँछिन्। “कक्षाकोठामा झ्यालसमेत छैन। हावाहुरीले उस्तै सताउँछ,” उनले भनिन्, “हामी त एउटै कक्षामा दुईटा सेक्सन मिसाएर पढिरहेका छौँ।”
उनले पढ्ने कक्षा नौ मा ४७ विद्यार्थी अध्ययनरत छन्।
यो विद्यालयमा खेलमैदान त टाढाको कुरा, विद्यार्थीलाई उपयुक्त शौचालय भवन र पिउने पानीको आधारभूत व्यवस्था समेत छैन। “पढाइ छोड्ने कुरा पनि भएन,” रामसिताले सुनाइन्, “महिनावारी हुँदा गाह्रो हुन्छ, कसैले नदेख्ने ठाउँमा गएर आफूलाई व्यवस्थित गर्न बाध्य छौँ।”
स्वामीकार्तिक खापर गाउँपालिकामै उस्तै समयमा सम्झौता गरिएको खोलिकोटको मण्डाली आधारभूत विद्यालयको नयाँ भवन भने तयार भएर विद्यार्थीहरू पढ्न थालिसकेका छन्। तर राघुमाता विद्यालयको भने पहिलो ढलान पनि बनेको छैन। गाउँपालिका अध्यक्ष भरतबहादुर रोकाया आधा काम (५० प्रतिशत) सम्पन्न भइसकेको दाबी गर्छन्। तर दशैँअघि नै पहिलो ढलान हुनुपर्नेमा गारो लगाएर मात्रै छाडिएको प्रष्ट देखिन्छ।

विद्यालयको अवस्था यस्तो किन बनाइयो? निर्माण व्यवसायी धर्म शाहीले बिकट गाउँमा सामान ओसारपोसार गर्न वर्षायाममा सम्भव नभएकाले काममा केही ढिलाइ भएको दाबी गरे। “मैले स्कुलसँग ठेक्का लिएको होइन, पालिकासँग लिएको हो। जति क्षेत्रफलमा हामीलाई काम गर्ने अनुमति दिइएको छ, उति नै भूगोलका लागि हामी जिम्मेवार हुन्छौँ,” उनले भने, “समय र गुणस्तरमा केही भए हाम्रो सरोकारको विषय हो, अन्यथा हामीलाई पुरानो भवनमा के भयो भन्ने मतलब हुँदैन।”
प्रधानाध्यापक भण्डारीलाई दिएको जवाफ नै दोहोर्याउँदै उनले थपे, “नयाँ भवन बनाउँदा अलिकति दुःख त भइहाल्छ नि।”
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
